ट्रेड बचत तथा ऋण सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । ट्रेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको धुम्बाराहीस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा शुक्रबार सम्पन्न साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षका विभिन्न नीति तथा कार्यक्रममाथि छलफल गरिएको थियो।

सभामा संस्थाका अध्यक्ष अमुल श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यको आर्थिक तथा सामाजिक समृद्धि, सुरक्षित बचत, गुणस्तरीय वित्तीय सेवा तथा सदस्यकेन्द्रित सहकारी अभ्यासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म संस्थाको कुल सम्पत्ति रु. ७१ करोड ६९ लाख २२ हजार ७ सय २९ पुगेको छ। त्यस्तै, कुल बचत तथा निक्षेप रु. ५७ करोड १२ लाख ३१ हजार १ सय ६२ कायम भएको छ भने सदस्यहरूमा कुल रु. ५६ करोड ४४ लाख ३३ हजार ९ सय ३७ कर्जा लगानी गरिएको छ।

संस्थाको शेयर पुँजी रु. ५ करोड १० लाख ७७ हजार ९ सय पुगेको प्रतिवेदनमा उल्लेख छ। संस्थाले जगेडा कोष तथा अन्य कोषहरूमा समेत वृद्धि गर्दै वित्तीय स्थायित्वलाई थप मजबुत बनाउने प्रयास गरेको जनाएको छ। जगेडा कोषलगायत विभिन्न कोषमा करिब रु. ३ करोड ३१ लाख ३० हजार ४ सय ८९ सञ्चित रहेको प्रतिवेदनमा उल्लेख छ।

सभामा संस्थाको आर्थिक अवस्था, सदस्यको बचत सुरक्षा, कर्जा लगानी तथा प्रभावकारी कर्जा असुली, जोखिम व्यवस्थापन र डिजिटल सेवाको विस्तारलगायत विषयमा छलफल गरिएको थियो। आगामी दिनमा सदस्यको बचतलाई सुरक्षित राख्दै उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्ने, जोखिम कोष तथा जगेडा कोषलाई थप मजबुत बनाउने र सदस्य सहभागिता बढाउने योजना संस्थाले अघि सारेको छ।

कार्यक्रममा गणेश गिरीले स्वागत मन्तव्य राखेका थिए। त्यसपछि शेयर सदस्यहरूले संस्थाको प्रतिवेदन तथा भावी कार्यदिशामाथि आफ्ना सुझाव, धारणा तथा मन्तव्य राखेका थिए।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक निर्णय गरेको छ। साथै लेखापरीक्षक नियुक्ति, सञ्चालक समितिका निर्णय अनुमोदन, विनियम संशोधन तथा विभिन्न नीति तथा कार्यविधि संशोधनलगायतका विषयमा समेत छलफल भएको थियो।

साधारणसभाका क्रममा संस्थाले उत्कृष्ट बचतकर्ता तथा सदस्यहरूलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरेको थियो। पूर्णबहादुर श्रेष्ठ, रमेशप्रसाद बजगाईं र धनबहादुर खड्कालाई उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो। त्यस्तै, उत्कृष्ट व्यवसायी पुरस्कार दुर्गाप्रसाद मैनालीलाई र उत्कृष्ट कर्मचारी पुरस्कार सुदर्शन पण्डितलाई प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कुबर तथा संस्थाका पदाधिकारी, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा संस्थाको आगामी कार्यदिशा, सदस्य सेवा विस्तार र सहकारीलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने विषयमा समेत जोड दिइएको थियो।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार