काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र समस्या रहेको महसुस गरेर पनि व्यवहारमा सुधार नल्याए त्यसले सकारात्मक परिणाम नदिने बताएका छन् । मंगलबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैली र पार्टीभित्र देखिएका समस्यातर्फ संकेत गर्दै सुधार आवश्यक रहेको बताएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार पोखरेलले आफूले ओलीलाई अध्यक्ष तथा नेता मानिरहेको स्पष्ट गर्दै असहमति राख्नुको अर्थ नेतृत्वलाई अस्वीकार गर्नु नभएको बताएका थिए ।
‘तपाईंलाई भ्रम परेको छ । मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन,’ पोखरेलको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईं र मेरो दूरी छैन । पार्टीभित्र समस्या छन् भन्ने रियलाइजेसन गरौँ, त्यसपछि मात्रै समाधान हुन्छ । तपाईंलाई नेता मानेकै छु, तर नेतृत्व मिलेन । तपाईंले कार्यकर्तालाई समान रूपमा हेर्ने दृष्टिकोण राख्नुपर्यो ।’
पोखरेलले पार्टीमा राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा समेत समस्या देखिएको बताएका थिए । यस्ता समस्याका कारण जनताले आफूहरूलाई विश्वास गर्न छाड्दै गएको उनको धारणा थियो । उनले समस्या पहिचानसहितको एकताले मात्रै परिणाम दिन सक्ने उल्लेख गर्दै प्रतिवेदनमा समस्या स्वीकार गर्ने तर व्यवहार भने पुरानै ढंगले अघि बढाउने प्रवृत्तिले समाधान नदिने बताएका थिए ।
‘रियलाइजेसनसहितको एकता हो भने त्यसले परिणाम दिन्छ । प्रतिवेदनमा रियलाइजेसन गर्ने तर व्यवहारचाहिँ यथावत् राख्ने कुराले ठीक हुँदैन,’ पोखरेलले भनेका थिए । महासचिव पोखरेलले पार्टी सुधारकै लागि लामो मिहिनेतपछि कार्यदलले तयार पारेको प्रतिवेदनलाई बेवास्ता गर्न नहुने धारणा पनि राखेका थिए । जनताले दिएको सन्देशलाई नबुझी गरिने निर्णयले पार्टीलाई सही दिशामा लैजान नसक्ने उनको भनाइ थियो ।
यसअघि सोमबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महासचिव पोखरेललाई कुनै भूमिका दिएका थिएनन् । त्यसपछि पोखरेलले सोमबार नै गुण्डु पुगेर ओलीसँग बैठक सञ्चालनको शैलीप्रति असहमति जनाउँदै पार्टीभित्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।






