काठमाडौं । काठमाडौंको आलोकनगर घर भई हाल आयरल्याण्डमा बस्दै आएका जोन पोख्रेलको अग्रसरतामा डब्लिनस्थित टिचर्स क्लबमा गत सेप्टेम्बर १५ गते आयोजित ‘संगीतबाट सहयोग’ कार्यक्रमबाट संकलित ४ लाख २१ हजार १ सय ११ रुपैयाँ बाढीपीडित तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि हस्तान्तरण गरिएको छ।
नेपालमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित तथा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै संगीतमार्फत मानवीय सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा आयरल्याण्डमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमबाट संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको आयोजक समूहले जनाएको छ। कार्यक्रममा विभिन्न नेपाली संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारी, कलाकार, संगीतकर्मी, समाजसेवी, सञ्चारकर्मी तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो। प्रवेश निःशुल्क राखिएको कार्यक्रममा उपस्थित सहभागीहरूले स्वेच्छाले सहयोग गरेका थिए।
आयोजकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कार्यक्रम सफल बनाउन गंगाराम कँडेल, सन्तोष शर्मा तथा कार्यक्रम सञ्चालिका नीतिश्मा गौतम लगायत कलाकार, स्वयंसेवक, प्राविधिक टोली र सहयोगीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ।
आयोजक समूहले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, हौसला र प्रेरणा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ। ‘संगीतसँगै मानवता जोडौँ, सहयोगको हात बढाऔँ’ भन्ने सन्देशसहित अभियान अघि बढाइएको आयोजकले जनाएको छ।






