काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले आश्विन १ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा साधारणसभा आयोजना गरेको हो।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा कम्पनीको भावी योजनासहित विभिन्न प्रस्तावमाथि छलफल भएको छ।
कम्पनीले उक्त आर्थिक वर्षका लागि कुल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश रहेको छ। बोनस शेयरको मूल्य करिब ३४ करोड ७२ लाख रुपैयाँ र नगद लाभांश करिब १ करोड ८२ लाख रुपैयाँ बराबर रहेको छ।
साधारणसभामा बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा २:१ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत अघि सारिएको छ। कम्पनीका अध्यक्ष धनराज आचार्यले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त प्रस्तावसम्बन्धी जानकारी दिएका हुन्।
कम्पनीका अनुसार हकप्रद शेयरबाट प्राप्त हुने पुँजी २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत् आयोजना निर्माणमा प्रयोग गर्ने योजना रहेको छ। कम्पनीको १७औँ साधारणसभाको एजेन्डामा अपर तमोर जलविद्युत् आयोजनाका लागि २:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको उल्लेख गरेको छ।
चुक्ता पुँजीमा वृद्धि
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पुँजी बढेर करिब २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँ पुग्नेछ।
त्यसपछि ५० प्रतिशत हकप्रद शेयर निष्कासन भएमा कम्पनीको चुक्ता पुँजी करिब ३ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ पुग्नेछ। यससँगै कम्पनीको पुँजी संरचनामा उल्लेख्य विस्तार हुने देखिएको छ।
विद्युत् बिक्रीबाट आम्दानी वृद्धि
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म विद्युत् बिक्रीबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको । सो अवधिमा कम्पनीको खुद नाफा ४२ करोड ५९ लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २७७.६८ प्रतिशतले वृद्धि हो। कम्पनीको वार्षिकीकृत नभई चौथो त्रैमासको आधारमा प्रतिशेयर आम्दानी (EPS) १८ रुपैयाँ ४० पैसा कायम भएको थियो।
सुपर मादी हाइड्रोपावरले कास्कीमा ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ। आयोजना रन-अफ-द-रिभर प्रकृतिको हो।
कम्पनीको प्लान्ट सञ्चालन तथा कर्मचारी व्यवस्थापनको काम ‘व्यवस्थापन हाइड्रोपावर म्यानेजमेन्ट सर्भिस प्रा.लि.’ सँगको सम्झौतामार्फत भइरहेको कम्पनीले जनाएको छ।
साधारणसभामा कम्पनीको प्रगति तथा आयोजनाको सञ्चालनमा सहयोग गर्ने शेयरधनी, नेपाल विद्युत् प्राधिकरण, लगानीकर्ता बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नियमनकारी निकाय, आयोजना प्रभावित स्थानीय बासिन्दा, कर्मचारी तथा लेखापरीक्षकप्रति कम्पनीका अध्यक्ष आचार्यले धन्यवाद व्यक्त गरेका छन्।















