काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीका अवसरमा आयोजित १८औँ संस्करणको शोमा नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा तथा नेपाली अटोमोबाइल बजारका नयाँ सम्भावना प्रस्तुत गरिएको थियो।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहेका थिए। प्रदर्शनीमा २५ प्यासेन्जर भेहिकल, १७ लाइट कमर्सियल भेहिकल, १३ दुईपांग्रे ब्रान्ड तथा १५ बैंक तथा वित्तीय संस्था र बीमा सेवा प्रदायक सहभागी भएका थिए।
यस वर्षको शोमा नयाँ मोडलका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन मुख्य आकर्षण बने। बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी र डङफेङलगायत ब्रान्डका नयाँ मोडलले दर्शकको ध्यान तानेका थिए। विद्युतीय सवारीसाधनको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
अटो शोमा सवारीसाधनसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा समेत प्रतिस्पर्धा देखिएको थियो। विभिन्न बैंकले कम ब्याजदर, सेवा शुल्क तथा प्रिमियममा छुटलगायतका योजना सार्वजनिक गरेका थिए।
यसैबीच, बाढीपहिरोको कठिन परिस्थितिबीच अटो शो सम्पन्न भएको नाडाले जनाएको छ। भोटेकोशी, त्रिशूलीलगायतका नदी प्रणालीमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला पनि उद्योगी–व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम र सर्वसाधारणको सहयोग तथा विश्वासका कारण प्रदर्शनी निरन्तरता पाउन सकेको नाडाले जनाएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवभन्दा पीडाको अनुभूति बढी भए पनि अटो शो निरन्तरता दिन सफल भएको बताए। उनका अनुसार अटो शो सवारीसाधन बिक्री गर्ने थलो मात्र नभई नयाँ प्रविधि प्रदर्शन गर्ने तथा नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने महत्वपूर्ण मञ्च हो।
यी हुन् नाडा अटो शो २०२६ का उत्कृष्ट पाँच स्टल
प्यासेन्जर कार: बीवाईडी — साईमेक्स इन्क प्रालि
दुईपांग्रे सवारीसाधन: यामाहा — एमएडब्लु राइड्स प्रालि
कमर्सियल चारपांग्रे: दिगो — एनईभी नेपाल प्रालि
अटो कम्पोनेन्ट: मिशेलिन टायर — सिप्रदी अटोपार्टस् प्रालि
बैंक तथा वित्तीय संस्था: माछापुच्छ्रे बैंक
उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो।







