चेतनशील महिला सहकारीको १५औँ साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन



काठमाडौं । चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति, वित्तीय अवस्था, लेखापरीक्षण प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै विभिन्न प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष विदिता अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि समेत छलफल गरिएको थियो ।

सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट तयार गरिएका विभिन्न नीति तथा कार्यविधि अनुमोदन गर्ने तथा संस्थाको विनियम संशोधन र नयाँ विनियम निर्माणसम्बन्धी आवश्यक निर्णय गरेको छ ।

यसैगरी, सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिका पदाधिकारीको भत्ता तथा प्रमुख कार्यकारी अधिकृतको तलब–भत्तासम्बन्धी विषयमा पनि छलफल गरिएको थियो । साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यहरूमध्येबाट प्रतिनिधि छनोट गर्ने विषयसमेत सभाको कार्यसूचीमा समावेश गरिएको थियो ।

पारदर्शिता र सुशासनलाई प्राथमिकता

अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा चुनौतीपूर्ण आर्थिक परिस्थितिका बीच पनि सहकारीका मूल सिद्धान्त, पारदर्शिता, सुशासन, नैतिकता र जवाफदेहितालाई प्राथमिकतामा राखेर सदस्यकेन्द्रित सेवा प्रवाह गर्दै आएको उल्लेख गरिएको छ । संस्थामा महिला सदस्यहरूको सहभागिता उल्लेख्य रहेको पनि प्रतिवेदनमा जनाइएको छ ।

संस्थाले सदस्यहरूको आर्थिक तथा वित्तीय आवश्यकता पूरा गर्न बचत तथा ऋण कारोबारलाई निरन्तरता दिँदै आएको जनाएको छ । पछिल्लो समय देखिएको आर्थिक तथा व्यावसायिक चुनौतीबाट सहकारी क्षेत्रसमेत प्रभावित भए पनि संस्थालाई सुरक्षित, सक्षम, सुशासित र पारदर्शी बनाउँदै अघि बढाउने प्रतिबद्धता अध्यक्ष अधिकारीले व्यक्त गरेकी छन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले विभिन्न सहयोगमूलक गतिविधि सञ्चालन गर्दै आएको छ । बाढीपीडितको सहयोगका लागि समेत संस्थाले आर्थिक सहयोग गरेको जनाएको छ ।

नयाँ सञ्चालक समिति चयन

अध्यक्ष – पार्वती पौडेल
उपाध्यक्ष – भावना गौतम ज्ञवाली
सचिव – बिन्दु कुमारी शर्मा बसेल
कोषाध्यक्ष – विष्णु देवी शर्मा बराल
सदस्य – यशोदा ज्ञवाली
सदस्य – सिर्जना कँडेल
सदस्य – निर्मला पौडेल

लेखा समिति

संयोजक – विजया तिमिल्सिना
सदस्य – राधिका पोखरेल
सदस्य – इन्दिरा ज्ञवाली

नवनिर्वाचित समितिले संस्थाको संस्थागत सुशासन, वित्तीय अनुशासन, सदस्य हित तथा सहकारीको दिगो विकासलाई प्राथमिकतामा राखेर आगामी कार्य अघि बढाउने अपेक्षा गरिएको छ ।

अध्यक्ष विदिता अधिकारीले संस्थाको विकासमा सहयोग पुर्‍याउने शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी, सल्लाहकार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सबैको साथ र सहयोगबाट संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएकी छन् ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार