काठमाडौं । नेपाल रसिया आर्ट क्लब र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा तथा काठमाडौंस्थित रसियन हाउसको सहकार्यमा ‘ग्रुप पेन्टिङ एक्जिबिसन–२०२६’ सुरु भएको छ । कमलपोखरीस्थित रसियन हाउसमा बुधबार आयोजित विशेष समारोहबीच पूर्वमन्त्री पदमा अर्यालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा नेपाल रसिया आर्ट क्लबकी अध्यक्ष तथा कलाकार सुष्मा राजभण्डारीसहित कला क्षेत्रका कलाकार, कला–प्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनीमा नेपाली कलाकारहरूले सिर्जना गरेका विभिन्न विधा, शैली र विषयवस्तु समेटिएका चित्रहरू राखिएका छन् । चित्रकलाका माध्यमबाट नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्य तथा सामाजिक जीवनका विविध पक्षलाई प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा पूर्वमन्त्री अर्यालले कला कुनै भौगोलिक वा अन्य सीमाभित्र सीमित नहुने बताउँदै यस्ता कला प्रदर्शनीले कलाकारको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले नेपाल र रुसबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेपाल रसिया आर्ट क्लबकी अध्यक्ष राजभण्डारीले नेपाली कलाकारलाई आफ्ना सिर्जना सार्वजनिक गर्ने अवसर उपलब्ध गराउनुका साथै नेपाल र रुसबीच कला तथा सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिने उद्देश्यले संयुक्त प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्ता प्रदर्शनी उपयोगी हुने बताउनुभयो ।
सेप्टेम्बर २० सम्म प्रदर्शनी
‘ग्रुप पेन्टिङ एक्जिबिसन–२०२६’ सेप्टेम्बर ९ देखि २०, २०२६ सम्म सञ्चालन हुनेछ । रसियन हाउस, कमलपोखरीमा आयोजना भइरहेको प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ ।
आयोजकले कला–प्रेमी, कलाकार तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई नेपाली कलाकारका सिर्जना अवलोकन गर्न आग्रह गरेको छ।






