काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको सम्झना तथा सम्मानमा काठमाडौँ फोटोग्राफर संघ, स्वयम्भू एरिया कमिटीले दीप प्रज्वलन कार्यक्रम गरेको छ।
२०८३ साल भदौ २२ गते सोमबार साँझ स्वयम्भूमा आयोजित कार्यक्रममा बाढीका कारण विभिन्न जिल्लामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। साथै, बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै, काठमाडौँ फोटोग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरे, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे, स्वयम्भू एरिया कमिटीका संयोजक राजु लामा लगायत कार्यसमितिका पदाधिकारी तथा फोटोग्राफरहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एक मिनेट मौनधारण गर्नुका साथै मैनबत्ती बालेर बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उपस्थित व्यक्तित्वहरूले विपद्को कठिन घडीमा सबै नागरिक एकजुट भएर पीडितहरूको साथ, सहयोग र पुनःस्थापनामा जुट्नुपर्ने सन्देशसमेत दिएका थिए।
















