एकता होटल एन्ड गेस्ट हाउस एसोसिएसनको १४औँ साधारणसभा सम्पन्न, पर्यटन विकासमा सरकार–निजी क्षेत्र सहकार्यमा जोड



काठमाडौं । एकता होटल एन्ड गेस्ट हाउस एसोसिएसन नेपालको १४औँ वार्षिक साधारणसभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको छ। साधारणसभामा होटल तथा गेस्ट हाउस व्यवसायका समसामयिक समस्या, पर्यटन प्रवद्र्धन तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल गरिएको छ।

कार्यक्रमको सभापतित्व एसोसिएसनका अध्यक्ष सरोज आलेले गरेका थिए। कार्यक्रममा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष प्रज्वल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने महासचिव अनिश बानियाँले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमको अन्त्यमा मोहन थेबेले धन्यवाद मन्तव्य राखेका थिए।
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्य तथा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव धमलाको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पर्यटन मन्त्रालयका पर्यटन विज्ञ एवं वातावरणविद् पीके शेर्पा, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य ऋषिकुमार चौंलागाईं, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका महासचिव सुनील अर्याल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, होटल संघ नेपालका विनयकुमार शाह, पूर्वअध्यक्ष मोहन थेबेलगायत होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

त्यस्तै, एकता होटल एन्ड गेस्ट हाउस एसोसिएसनका संस्थापक अध्यक्ष ज्ञानु गजमेर, कलंकी होटल एन्ड गेस्ट हाउस एसोसिएसनका अध्यक्ष कुमार श्रेष्ठ, सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवीप्रसाद कँडेल, नेपाली होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष काजीबहादुर कटुवाल, बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर खाती, काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुवबहादुर कार्की, विमानस्थल हवाई यात्रु व्यवस्थापन लिमिटेडका अध्यक्ष पुरुषोत्तम सिंखडा, बत्तीसपुतली व्यापार संघका महासचिव पुष्कर धिमिरे, काठमाडौं महानगरपालिका–९ का वडा सदस्य टेकबहादुर अधिकारी, प्रहरी वृत्त गौशालाका प्रमुख प्रकाश श्रीमललगायतको उपस्थिति थियो।

साधारणसभामा अध्यक्ष सरोज आलेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एसोसिएसनले वर्षभरि सञ्चालन गरेका गतिविधि, व्यवसायीका हकहितका लागि गरिएका पहल, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा आगामी कार्यदिशाबारे जानकारी गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथि सचिव दीपेन्द्र सुवेदीले नेपालको पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए। पर्यटन क्षेत्रबाट व्यवसायी मात्र नभई राज्यले समेत आर्थिक लाभ प्राप्त गर्ने भएकाले पर्यटन प्रवद्र्धनलाई साझा प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

नेपालमा पर्यटक आगमन बढाउनु सरकार र व्यवसायी दुवैको साझा लक्ष्य भएको उल्लेख गर्दै सुवेदीले निजी क्षेत्र, सरकार तथा पर्यटनसँग सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। पर्यटन व्यवसाय विस्तार हुँदा राज्यको राजस्वसमेत बढ्ने भएकाले व्यवसायीलाई सहज हुने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

उनले होटल तथा पर्यटन व्यवसायीले उठाउँदै आएका कानुनी तथा नीतिगत विषयमा आवश्यक सुधारका लागि सरकारले काम गरिरहेको जानकारी दिए। व्यवसाय सञ्चालनमा सहजता ल्याउने उद्देश्यले कानुनी व्यवस्थालाई समयअनुकूल बनाउँदै लैजाने सरकारको नीति रहेको उनले स्पष्ट पारे।

सुवेदीले नेपालको प्रकृति, संस्कृति, धार्मिक सम्पदा तथा साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्नुपर्ने बताए। हिमाल आरोहण, बन्जी, प्याराग्लाइडिङलगायत पर्यटनका विविध सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न सके मुलुकको अर्थतन्त्रमा पर्यटनको योगदान थप बढ्ने उनको भनाइ थियो।
त्यस्तै, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य ऋषिकुमार चौंलागाईंले व्यवसायीका साना–ठूला समस्या सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु तथा पाहुना लिन जाने व्यवसायीले प्रतीक्षालयमा बस्नुपर्ने र त्यसका लागि शुल्क तिर्नुपर्ने व्यवस्था व्यावहारिक नभएको उनको भनाइ थियो।

उनले व्यवसायीका दैनिक तथा व्यावहारिक समस्या समाधान गर्न राज्यले भुइँ तहका व्यवसायीको आवाजसमेत सुन्नुपर्नेमा जोड दिए।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले विमानस्थलको यात्रु सहायता कक्षसँग सम्बन्धित गुनासो बढिरहेको बताए। विमानस्थलबाट होटलमा आउने पाहुनालाई आफूले बुक गरेको होटलमा नपुर्‍याई अन्यत्र लैजाने गरेको गुनासो आउने गरेको भन्दै उनले यस्तो गतिविधिले यात्रु तथा पर्यटक ठगीमा पर्ने र होटल व्यवसायीले समेत आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको बताए।

बरालले लामो समयदेखि देखिँदै आएको यस्तो गतिविधिलाई सरकारले गम्भीरतापूर्वक लिएर आवश्यक नियमन तथा कारबाही गर्नुपर्ने माग गरे।
साधारणसभामा सहभागी अन्य वक्ताले पनि होटल तथा पर्यटन व्यवसायको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य र संवाद आवश्यक रहेको बताए। व्यवसायीका कानुनी तथा व्यावहारिक समस्या समाधान, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा तथा सेवा गुणस्तर सुधारमा सबै पक्षले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने उनीहरूको भनाइ थियो।

साधारणसभाका अवसरमा एसईई परीक्षामा सफलता हासिल गरेका व्यवसायीका १५ जना छोराछोरी, दुई व्यवसायी तथा संस्थाको पूर्वकार्यसमितिमा रहेर योगदान पुर्‍याएका पदाधिकारी र सल्लाहकारलाई सम्मान गरिएको थियो। व्यवसायी परिवारका विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै संस्थाको विकासमा योगदान पुर्‍याउने अग्रजको सम्मान गर्ने उद्देश्यले सम्मान कार्यक्रम गरिएको एसोसिएसनले जनाएको छ।
साधारणसभाले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा व्यवसायीको हकहित संरक्षण, पर्यटन प्रवद्र्धन, संस्थागत सुदृढीकरण तथा सम्बन्धित सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार