सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐन संशोधन आवश्यक : सांसद शेर्पा



काठमाडौं । सगरमाथा आरोहीको अधिकार, सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न नेपालको पर्यटन ऐनलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिइएको छ।

सगरमाथा आरोही संघको २५औँ स्थापना दिवसका अवसरमा आयोजित ‘रजत महोत्सव’ कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेविड शेर्पाले नेपालको पर्यटन क्षेत्र र आरोहीका अधिकारलाई सम्बोधन गर्ने गरी विद्यमान पर्यटन ऐनमा सुधार आवश्यक रहेको बताए।

उनले विसं २०३५ मा बनेको पर्यटन ऐन लामो समयदेखि पूर्ण रूपमा परिवर्तन हुन नसक्दा वर्तमान पर्यटन क्षेत्रका आवश्यकता सम्बोधन गर्न कठिनाइ भइरहेको बताए। सगरमाथा आरोहणको ७३ वर्ष पुगिसक्दा पनि धेरै आरोहीले उचित सम्मान, सुरक्षा र सामाजिक संरक्षण पाउन नसकेको उनको भनाइ थियो।

आरोहणका क्रममा धेरै नेपाली आरोहीले ज्यान गुमाएको उल्लेख गर्दै शेर्पाले उनीहरूका परिवारको सामाजिक तथा आर्थिक सुरक्षाका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने बताए। उनले नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न पर्यटन क्षेत्रमै रोजगारी र भविष्यको अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिए।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विकाससँगै नेपालको समग्र आर्थिक विकास अघि बढ्ने बताए। नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको प्रचारप्रसार, प्रवर्द्धन र संरक्षणमा सबै पक्ष सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइडको सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि प्रभावकारी नीति निर्माण गर्न सरकारसँग आग्रह गरिन्। उनले जोखिमपूर्ण अवस्थामा काम गर्ने आरोही तथा गाइडको भविष्य सुनिश्चित गर्न छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरिन्।

संघका प्रथम उपाध्यक्ष दिवस पोखरेलले हिमाल आरोहणका क्रममा आरोही तथा गाइडले अत्यधिक चिसो, हिमपहिरो लगायतका जोखिम सामना गर्नुपर्ने बताए। उनीहरूको सुरक्षा र अधिकार सुनिश्चित गर्न संघीय तथा प्रदेश तहबाट स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको उनले बताए।

त्यस्तै, संघका महासचिव शिवबहादुर सापकोटाले आरोहणका क्रममा दुर्घटनामा परेका आरोहीको निःशुल्क तथा गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे। ज्यान गुमाएका आरोहीका बालबालिकाका लागि उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सगरमाथा सफल आरोही तथा पर्वतीय पर्यटनका विषयमा पत्रकारिता गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। कार्यक्रममा संघको २५औँ स्थापना दिवसका अवसरमा प्रकाशित ‘रजत स्मारिका’ समेत विमोचन गरिएको थियो।

    प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार