काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई डर, त्रास र आतंकमा राख्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। शनिबार नगरकोटमा आयोजित पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले सरकार गठन भएकै दिन आफूलाई गिरफ्तार गरेर आम नागरिकमा समेत त्रास सिर्जना गर्न खोजिएको दाबी गरे।
उनले सरकार बनेपछि रातभरको प्रक्रियापछि बिहान आफूलाई गिरफ्तार गरिएको उल्लेख गर्दै आफू यस्ता दबाब र धम्कीबाट नडराउने बताए। ओलीले वर्तमान सरकारलाई ‘बारुला’को संज्ञा दिँदै आफूले यसअघि पनि विभिन्न राजनीतिक चुनौती सामना गरिसकेको बताए। उनले आफूलाई गिरफ्तार गर्नुको उद्देश्य अन्य नागरिकलाई समेत ‘केपी ओलीलाई त समातियो, अरूको के होला?’ भन्ने डर पैदा गर्नु रहेको आरोप लगाए।
उनले भने, “यी बारुलासँग डराएर हामीले देश सधैं यिनीहरूकै जिम्मा लगाउन सकिँदैन।” ओलीले मुलुकलाई कथित प्रतिगमनबाट फर्काउने, लोकतन्त्र पुनःस्थापित गर्ने र संविधानको संरक्षण गर्ने आफ्नो दाबी रहेको बताए। उनले देशलाई पुनः सुशासन र विकासको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले सरकारले राजनीतिक प्रतिशोधका क्रममा कसैलाई पक्राउ गर्ने, जेल हाल्ने, बदनाम गर्ने तथा सम्पत्ति जफत गर्ने प्रयास गर्न सक्ने आरोपसमेत लगाए। बैंक खाता बन्द गर्ने वा कारोबार रोक्ने कार्यले व्यवसायी तथा ठेकेदारलाई आर्थिक संकटमा पार्ने उनको भनाइ थियो।
“कारोबार रोकिदिएपछि औजारहरू खिया लागेर जाने, बैंकको ऋण बढ्दै जाने, मजदुरले पारिश्रमिक माग्ने र भाडासमेत तिर्न नसक्ने अवस्था आउँछ,” ओलीले भने। यस्ता गतिविधिबाट मानिसलाई बाँच्नै कठिन हुने अवस्था सिर्जना गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै ओलीले सरकारले नेपाली जनतामा डर, त्रास र आतंकको वातावरण बनाएको आरोप लगाए।
उनले एमालेले लोकतन्त्र, संविधान, सुशासन र विकासको पक्षमा निरन्तर आवाज उठाइरहने पनि बताए।






