प्रधानमन्त्री बालेन सडकमार्गबाटै मुस्ताङ जाने



काठमाडौं । निजी भ्रमणका लागि शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार सडकमार्ग हुँदै मुस्ताङ जाने भएका छन्। मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेर यातायात अवरुद्ध भए पनि दुवै स्थानको पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा शनिबार बिहान ५ः२५ बजे सडक माथिबाट खसेको पहिरो हटाइएको हो। त्यस्तै, रघुगंगा गाउँपालिका–२ बैसरीमा बिहान ५ः३० बजे लेदोसहित खसेको पहिरो पनि हटाइएको कालीगण्डकी करिडोर सडक आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।

उनका अनुसार दुवै स्थानमा पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ। सडक खुलेपछि प्रधानमन्त्री शाह सोही मार्ग हुँदै मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ। उनी अहिले पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा रहेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार