हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनसँगै सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट टुंगिएको छ। एमालेले मुख्यमन्त्रीसहित २, नेपाली कम्युनिस्ट पार्टीले २ र राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएको छ।
राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङ मन्त्री बन्ने तयारीमा छन्। विष्टका अनुसार उनीहरूको सपथ आज अपराह्न ४ बजे तय भएको छ। तर सरकारलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद देखिएको छ। संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापामगरलाई समर्थन गरे पनि पार्टी केन्द्रले उक्त समर्थन आधिकारिक नभएको जनाएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले व्यक्तिले दिएको समर्थन पार्टीको समर्थन हुन नसक्ने बताएका छन्। पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गरेको भन्दै नेता थापालाई स्पष्टीकरणसमेत सोधिएको छ।
प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार






