काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदबीच असमझदारी देखिन थालेपछि लामिछानेले बुधबार उनीहरूसँग छलफल थालेका हुन् । पार्टी संसदीय दलको कार्यालयमा जारी बैठकमा सरकार र पार्टीका सांसदबीच पछिल्लो समय देखिएको असमझदारी तथा गतिविधिबारे समीक्षा हुने एक सांसदले जानकारी दिए ।

सांसदहरूले संसद्मा बोल्दा प्रयोग गर्ने भाषा तथा सार्वजनिक गतिविधि मर्यादित हुनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिने प्रवृत्ति बढेको भन्दै रास्वपाभित्र असमझदारी बढ्दै गएको बताइएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन् । तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र संसद्को गरिमाको ख्याल गर्न सचेत गराएका थिए ।
सभामुख अर्यालले बोल्न समय नदिएपछि सांसद तामाङ संसद् बैठकबाट बाहिरिएकी थिइन् ।
यही घटनालगायत पछिल्लो समय पार्टीका सांसद र सरकारका मन्त्रीबीच देखिएको असमझदारीका विषयमा सभापति लामिछानेले छलफल थालेका हुन् ।







