काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला आफूले नेतृत्व नछाड्ने बताएका छन्। इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र देखिएको अनुशासनहीनता र नेतृत्व परिवर्तनको बहसप्रति असन्तुष्टि जनाए। उनले अध्यक्ष हटाउने भन्दै हस्ताक्षर अभियान चलाउनु र सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिनु पार्टी अनुशासनविपरीत भएको बताए।
ओलीले पार्टी पुनर्गठन तथा आफ्नो विकल्प खोज्नुपर्ने आवाज उठाउनेहरूलाई समेत आलोचना गर्दै त्यस्ता गतिविधिले पार्टीलाई थप कमजोर बनाउने दाबी गरे। एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत केही नेताहरू ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएपछि पार्टीभित्र नेतृत्वको विषयमा बहस चर्किएको छ।
विरोधीको दबाब बढिरहेका बेला पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै ओलीले आफू अर्को महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने जिम्मेवारी कार्यकर्ताको अत्यधिक मतबाट पाएको उल्लेख गरे।
उनले आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप दृढ अनुशासनका साथ अघि बढाउने बताए। पार्टीको नीति, विधि र विधानविपरीत गतिविधि गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिँदै ओलीले पार्टीमा मनपरितन्त्र स्वीकार्य नहुने स्पष्ट पारे।
उनले पार्टीमा काम गर्ने प्रत्येक नेता–कार्यकर्ताले संगठनको नीति, नियम र अनुशासन पालना गर्नुपर्नेमा जोड दिए।






