काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी २९ साउनमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको स्थान तय गरेको छ। इतर समूहले भेलाका लागि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको जनाएको छ।
इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार मिराकल पार्टी प्यालेसमै राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको हो। उनका अनुसार शुक्रबार दिउँसो १ बजे उद्घाटन समारोह हुनेछ।
पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा आयोजना हुने राष्ट्रिय भेला तीन दिनसम्म सञ्चालन हुने बताइएको छ। इतर समूहले भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने अनुमान गरेको छ।
यसैबीच, कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं आइपुग्नेछन्। उनी थाई एयरको उडानमार्फत स्वदेश फर्किन लागेका हुन्।






