नाट्टा निर्वाचनमा सुशील पन्तको उम्मेदवारी, एकताबद्ध र समृद्ध पर्यटन क्षेत्र निर्माण गर्ने प्रतिबद्धता



काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा पर्यटन व्यवसायी सुशील पन्तले महासचिव पदमा उम्मेदवारी दिएका छन्। नाट्टाको २०२६–२०२८ कार्यकालका लागि आगामी साउन २९ गते हुने निर्वाचनलाई लक्षित गर्दै पन्तले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

गोर्खा इन्टरनेशनल ट्राभल्सका महासचिव पन्त पर्यटन, ट्राभल, टिकिङ, शिक्षा तथा कानुनी क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका पर्यटन व्यवसायीका रूपमा परिचित छन्। विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पन्तले पर्यटन क्षेत्रको विकास, व्यवसायीको हकहित, संरक्षण तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा योगदान पुर्‍याउँदै आएका छन्।

पन्तले आफ्नो उम्मेदवारीमार्फत अनुभव, इमानदारी, पारदर्शिता र सेवाभावलाई नेतृत्वको आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नाट्टाका सबै सदस्यको साझा हितलाई केन्द्रमा राख्दै बलियो, उत्तरदायी र परिणाममुखी संस्था निर्माण गर्ने बताएका छन्।

उनको मुख्य दृष्टिकोण एकताबद्ध पर्यटन समुदाय, सशक्त व्यावसायिक वातावरण र दीर्घकालीन विकासका माध्यमबाट पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने रहेको छ। पर्यटन व्यवसायीहरूबीच सहकार्य र एकता कायम गर्दै व्यवसायीका समस्या समाधान तथा अवसरको विस्तारमा प्रभावकारी भूमिका खेल्ने उनको प्रतिबद्धता छ।

पन्तले पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको हकहित र संरक्षण, व्यावसायिक अवसरको विस्तार, संस्थागत सुदृढीकरण तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
आगामी निर्वाचनमा सदस्यहरूको विश्वास र साथ प्राप्त भएमा नाट्टालाई अझ एकताबद्ध, पारदर्शी, व्यावसायिक र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने उनको लक्ष्य छ।

“सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय” भन्ने नारासहित पन्तले आफ्नो अभियानलाई अघि बढाएका छन्

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिवार