काठमाडौं । होस्टल व्यवसायी संघ नेपाल (HEAN) को चौँथो वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। संघले वार्षिकोत्सवको अवसरमा शंखमूलस्थित होटल ए–वानको सभाहलमा रक्तदान, सदस्य सम्मान तथा केक काट्नेलगायतका कार्यक्रम आयोजना गरेको हो।
वार्षिकोत्सवअन्तर्गत बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। एभरेष्ट हस्पिटल प्रा.लि., नयाँ बानेश्वरको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा १८ वर्षदेखि ६५ वर्षसम्मका र ४५ किलोग्रामभन्दा बढी तौल भएका स्वस्थ व्यक्तिहरूले रक्तदान गरेका थिए। संघका काठमाडौं जिल्ला सचिव ध्रुव कँडेलका अनुसार कार्यक्रममा करिब २५ जनाले रक्तदान गरेका छन्।
वि.सं. २०७९ सालमा स्थापना भएको होस्टल व्यवसायी संघ नेपालले आफ्नो स्थापना दिवस तथा वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै आएको छ। संघले व्यवसायीहरूको हकहितका विषयसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै रक्तदानलगायत विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सचिव कँडेलले बताए।
वार्षिकोत्सवको औपचारिक कार्यक्रम दिउँसो १२ः३० बजे सुरु भएको थियो। कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा होस्टल व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख दीपक अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले विद्यार्थी तथा सेवाग्राहीलाई सुरक्षित र व्यवस्थित आवासको सुविधा उपलब्ध गराउन होस्टल व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
होस्टल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन सम्बन्धित निकाय तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए। संघका अध्यक्ष किरण शर्मा पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले संघले स्थापनाकालदेखि नै होस्टल व्यवसायीहरूको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बताए।
वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्नु मानवीय सेवाप्रतिको संघको प्रतिबद्धताको निरन्तरता भएको उनको भनाइ थियो।
सो अवसरमा संघका पूर्व पदाधिकारीहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो। संघको स्थापना तथा संस्थागत विकासमा योगदान पुर्याएका पूर्व पदाधिकारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो। साथै, वार्षिकोत्सवका अवसरमा केक काट्ने कार्यक्रमसमेत आयोजना गरिएको थियो।
संघका महासचिव देवराज कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए। चौँथो वार्षिकोत्सवसँगै आयोजना गरिएको रक्तदान, सदस्य सम्मान तथा अन्य कार्यक्रमले होस्टल व्यवसायीबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास संघले व्यक्त गरेको छ।






