काठमाडौं । तारकेश्वर यातायात प्रालिको सातौँ वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। प्रालिका अध्यक्ष श्रीकृष्ण नगरकोटीको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
२०८३ साउन २३ गते शनिबार बिहान ८ बजे बालाजु सिटी पेट्रोल पम्पको अगाडि रहेको गोरखा प्यालेस इभेन्ट्समा साधारणसभा आयोजना गरिएको थियो।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सवारी दुर्घटनापछि चालक तथा सहचालकमाथि हुने हातपात र कुटपिटको प्रवृत्ति तत्काल रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको बताए।
उनले दुर्घटनापछि अनुसन्धान गर्ने, दोष निर्धारण गर्ने तथा दोषीमाथि कारबाही गर्ने अधिकार सम्बन्धित कानुनी निकायको भएको उल्लेख गर्दै भीडले चालकलाई आफैँ दण्डित गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।
“दुर्घटनाको अनुसन्धान र कारबाही गर्ने आफ्नै कानुनी प्रक्रिया छ। त्यसलाई छाडेर चालक तथा सहचालकमाथि कुटपिट गर्ने अवस्थाको अन्त्य हुनुपर्छ,” सिटौलाले भने।
उनले प्रहरी तथा ट्राफिक कर्मचारीको जस्तै चालक र सहचालकको सुरक्षाको प्रत्याभूति पनि राज्यले गर्नुपर्ने धारणा राखे। दुर्घटनाको अनुसन्धान तथा दोष निर्धारण कानुनी प्रक्रियाबाटै हुनुपर्ने भन्दै चालक र सहचालकमाथि हुने आक्रमण रोक्न राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
साधारणसभाका अध्यक्ष तथा तारकेश्वर यातायात प्रालिका अध्यक्ष श्रीकृष्ण नगरकोटीले पनि यातायात क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। उनले यातायात व्यवसायीले दैनिक रूपमा भोग्दै आएका समस्या, व्यवसाय सञ्चालनका क्रममा देखिएका चुनौती तथा यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक नीतिगत सुधारका विषयमा आफ्ना धारणा राखेका थिए।
नगरकोटीले यातायात व्यवसायी तथा श्रमिकका समस्या समाधान गर्दै सार्वजनिक यातायातलाई थप व्यवस्थित र प्रभावकारी बनाउन राज्य, व्यवसायी तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए। यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायले व्यवहारिक रूपमा पहल गर्नुपर्नेमा उनले जोड दिए।
त्यसैगरी सिटौलाले यातायात व्यवसायीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थी, दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकलाई विभिन्न किसिमका छुट तथा सुविधा उपलब्ध गराउँदै आएको बताए।
सरकारले प्रतिबद्धता जनाएअनुसार उपलब्ध गराउने भनिएको ६० प्रतिशत छुट रकम तथा त्यससम्बन्धी नीति तत्काल कार्यान्वयन गर्न उनले सरकारसँग माग गरे।
उनले यातायात क्षेत्रको सुधार व्यवसायीका माग पूरा गरेर मात्र सम्भव नहुने भन्दै यात्रुलाई प्रदान गरिने सेवाको गुणस्तरमा समेत सुधार आवश्यक रहेको बताए। व्यवसायी, चालक तथा सहचालकले यात्रुमाथि दुर्व्यवहार गर्ने, असहज व्यवहार देखाउने वा सेवामा लापरबाही गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाइ थियो।
साधारणसभामा यातायात व्यवसायी तथा श्रमिकको सुरक्षा, यात्रुको अधिकार तथा सार्वजनिक यातायातको सेवा सुधारका विषयमा समेत छलफल भएको थियो।
सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, गुणस्तरीय तथा यात्रुमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।






