काठमाडौं। थापाथली इन्जिनियरिङ क्याम्पसमा सातौँ सेमेस्टरमा अध्ययनरत नेपाल विद्यार्थी संघका नेता सुरेश ओझाको नेतृत्वमा आयोजित बंगलामुखी फुटसल टुर्नामेन्ट आज भव्य रूपमा उद्घाटन भएको छ। अध्ययनसँगै खेलकुद संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख, करातेका राष्ट्रिय खेलाडी तथा अधिवक्ता मुकेश सेन्चुरीले इन्जिनियरिङ शिक्षा केवल प्राविधिक ज्ञानमा सीमित नरही नेतृत्व, अनुशासन, टोली भावना र समस्या समाधान गर्ने क्षमताको विकाससँग पनि जोडिएको बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा सशक्त र सामाजिक रूपमा जिम्मेवार बनाउने भएकाले यस्ता प्रतियोगिताले सक्षम इन्जिनियरसँगै असल नागरिक निर्माणमा समेत योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य विष्णुहरी खड्काले विद्यार्थी जीवनमा खेलकुदको महत्त्व उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धा, मित्रता र आपसी एकताको विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्ने बताउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
प्रमुख अतिथि र विशिष्ट अतिथिले संयुक्त रूपमा पेनाल्टी सुटआउट गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटनसँगै विभिन्न टोलीबीच प्रतिस्पर्धात्मक खेलहरू सुरु भएका छन्।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य इन्जिनियरिङ विद्यार्थीहरूबीच आपसी सद्भाव, भाइचारा, खेलभावना र नेतृत्व क्षमताको विकास गर्नुका साथै अध्ययन र खेलकुदलाई सन्तुलित रूपमा अघि बढाउने वातावरण सिर्जना गर्नु हो।
प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई सफल, मर्यादित र खेलभावनायुक्त प्रतिस्पर्धाको शुभकामना व्यक्त गर्दै आयोजकले प्रतियोगिता सभ्य, भव्य र सफल हुने विश्वास व्यक्त गरेको छ।






