टुर्गानको अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित, नयाँ नेतृत्वले अवैध टुर गाइडमाथि कडाइ गर्ने



काठमाडौं । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौंस्थित प्रज्ञा–प्रतिष्ठान (प्रज्ञाभवन)मा सम्पन्न निर्वाचनबाट प्रभालक्ष्मी प्रधानाङ्ग अध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचनमा प्रधानाङ्गले २१९ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी उत्तमप्रसाद देवकोटालाई पराजित गरेका हुन्। देवकोटाले १०७ मत प्राप्त गरेका थिए।
त्यसैगरी महासचिव पदमा भक्तपुरका सुविन सितिखुले १६६ मत प्राप्त गर्दै रोहितकुमार फुयाललाई पराजित गरे। फुयालले १६३ मत प्राप्त गरेका थिए।

सचिव पदमा भक्तपुरका रविन भैनात्व १८० मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी तेजबहादुर श्रेष्ठले १४६ मत प्राप्त गरेका थिए। यस्तै कोषाध्यक्ष पदमा चनकेशरी कोजू १७४ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी ईश्वरबहादुर ढकालले १५३ मत प्राप्त गरेका थिए।

निर्वाचनपछि नवनिर्वाचित सचिव रविन भैनात्वले नयाँ नेतृत्वले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, पर्यटकको सुरक्षा र नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठा जोगाउन विशेष प्राथमिकता दिने बताए।

उनका अनुसार गैरकानुनी रूपमा टुर गाइडको काम गर्ने व्यक्तिमाथि कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने तथा त्यस्ता गतिविधिलाई निरुत्साहित गरिनेछ। साथै, व्यावसायिक पर्यटक पथप्रदर्शक (टुर गाइड)लाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउन विभिन्न तालिम, परियोजना तथा सम्बन्धित निकायसँगको सहकार्यमार्फत आवश्यक सहयोग, अवसर र प्रोत्साहन उपलब्ध गराउने कार्यक्रम अघि बढाइने उनले जानकारी दिए।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार