काठमाडौँ, ३१ जेठ । काठमाडौं फोटोग्राफर संघको आयोजनामा “Upgrade Your Skill with AI – तपाईंको अर्को पाइला: फोटो र भिडियो यहाँबाट सुरु हुन्छ” भन्ने मूल नारासहित एकदिने विशेष कार्यशाला सम्पन्न भएको छ ।
शनिबार (जेठ ३० गते) वसुन्धरास्थित दियालो फुडल्याण्डमा आयोजित कार्यशालामा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रका व्यावसायिक फोटोग्राफर, भिडियोग्राफर तथा डिजिटल प्रविधिमा सक्रिय व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।कार्यशालाको उद्घाटन काठमाडौं फोटोग्राफर संघका अध्यक्ष आनन्दप्रभाकर धिमिरे, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे, पूर्वअध्यक्षद्वय बालकृष्ण श्रेष्ठ र मोतिबहादुर बोगटी, एआई प्रशिक्षक मौसम पुरी तथा कार्यक्रम संयोजक सुजन तिमिल्सिनाले संयुक्त रूपमा गरेका थिए ।
एआईको प्रयोगबारे व्यावहारिक प्रशिक्षण
नेपाल चलचित्र विकास बोर्ड तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलसँग आबद्ध प्रशिक्षक मौसम पुरीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा फोटो तथा भिडियो सम्पादनमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को व्यावसायिक प्रयोगबारे विस्तृत प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा सहभागीहरूलाई एआई प्रयोग गरेर कामको गति बढाउने, सम्पादनको गुणस्तर सुधार्ने तथा नयाँ डिजिटल ट्रेन्डअनुसार आफूलाई परिमार्जित गर्ने व्यावहारिक सीपहरू सिकाइएको आयोजकले जनाएको छ ।
नयाँ अवसरबारे छलफल
कार्यक्रममा एआईले फोटोग्राफी र भिडियोग्राफी क्षेत्रमा ल्याइरहेको परिवर्तन, सम्भावना र चुनौतीबारे पनि छलफल गरिएको थियो । प्रशिक्षक पुरीले एआईको सही प्रयोगले सिर्जनात्मकता र व्यवसायिक दक्षता दुवै बढाउन सकिने बताएका थिए ।
सहयोगी संस्थाको विशेष घोषणा
कार्यक्रममा फोटो कन्सर्न नेपाल तथा सिबराम ट्रेडिङ कम्पनी (STC)ले सहयोग गरेका थिए । सो अवसरमा फोटो कन्सर्न नेपालका निर्देशक दिनेशराज अर्यालले सहभागीहरूलाई निःशुल्क फोटोबुकसम्बन्धी कुपन वितरण गर्नुका साथै काठमाडौं फोटोग्राफर संघका सदस्यहरूलाई फोटोबुकमा रु. ५०० छुट र निःशुल्क डेलिभरी सुविधा प्रदान गर्ने घोषणा गरेका थिए ।
सीप विकासलाई निरन्तरता
काठमाडौं फोटोग्राफर संघले स्थापनाकालदेखि नै सदस्यहरूको पेसागत दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी र कार्यशालाहरू आयोजना गर्दै आएको जनाएको छ । संघका अनुसार हाल सम्पन्न कार्यशालाले फोटोग्राफर र भिडियो सम्पादकहरूलाई डिजिटल युगअनुकूल नयाँ प्रविधिसँग अभ्यस्त हुन महत्वपूर्ण सहयोग पुर्याएको छ ।









