गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले यसबारे राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराइसकेको स्रोतले जनाएको छ ।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै आएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित उच्च पदस्थ अधिकारी तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने परम्परा छ । उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको थियो ।

तर प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहहरूमा न्यून उपस्थित देखिएका बालेन शाहले यस पटक पनि गणतन्त्र दिवसको मुख्य समारोहमा सम्बोधन नगर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्दै औपचारिक पत्राचार गरेका छन् ।

‘गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गरून् भन्ने आशयसहित राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ,’ स्रोतले बतायो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले सोही आधारमा राष्ट्रपतिबाट सम्बोधन गराउने प्रस्ताव गरिएको बताइएको छ ।

नेपालको संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा (२) अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा कार्य गर्ने संवैधानिक प्रावधान रहेको छ । यही व्यवस्थाअनुसार यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार