असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम



काठमाडौं । प्रतिनिधिसभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ। तर उक्त कार्यतालिकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा सांसदहरूले प्रश्न सोध्नका लागि छुट्याउनुपर्ने व्यवस्था छ। यदि तोकिएको दिन बैठक बस्न नसके लगत्तै बस्ने बैठकमा यो कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ।

यस व्यवस्थाअनुसार जेठ र असार महिनामा कम्तीमा दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने भए पनि संसदीय क्यालेन्डरमा दुवै महिनाका लागि यस्तो कार्यक्रम राखिएको छैन। संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार बजेटसँग सम्बन्धित विषयमा व्यापक छलफल हुने भएकाले प्रश्नोत्तर कार्यक्रम समावेश नगरिएको हो।

संसदीय क्यालेन्डरअनुसार जेठ ४ गतेदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ। जेठ १३ गते आर्थिक सर्वेक्षण पेश गरिनेछ भने जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ। त्यसपछि बजेटमाथिको छलफल, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यतालिका तय गरिएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार