हर्क साम्पाङको प्रश्न : लिपुलेकमा भारतले नाका खोल्दा सरकार किन चुप ?



काठमाडौं । हर्कराज साम्पाङ राईले लिपुलेक पासमा भारतले नाका सञ्चालन गर्दा पनि नेपाल सरकार मौन बसेको भन्दै कडा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद साम्पाङले नेपालको सीमा संरक्षणमा सरकारको भूमिका कमजोर भएको आरोप लगाए । उनले नेपाली सेनाको परिचालनमाथि प्रश्न उठाउँदै भने, “नेपाली सेना सीमाको रक्षा गर्न पठाइएको हो कि सुकुम्बासी बस्तीमा रहेका गरिब जनतालाई उठाउन ?”

साम्पाङले छिमेकी मुलुकले नेपालको भूमि मिचेर गतिविधि गर्दा पनि सरकार चुप बस्नु गम्भीर विषय भएको बताए । आफ्नै नागरिकलाई रुवाउने सरकार जनताको अभिभावक हुन नसक्ने भन्दै उनले देश अभिभावकविहीन अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले सरकारमाथि संविधान मिचेको आरोपसमेत लगाए । सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा प्रधानमन्त्री पुगेका छन् कि आफ्नै कार्यालय र निवासमै सीमित छन् भन्ने प्रश्न गर्दै उनले जनताको समस्या प्रत्यक्ष रूपमा बुझ्न सरकार असफल भएको बताए ।

साम्पाङले सरकारको निर्णय प्रक्रियामाथि व्यंग्य गर्दै सामान्य हिसाबसमेत सिकाउनुपर्ने अवस्था आएको बताए । संवैधानिक परिषद्को प्रसंग उठाउँदै उनले “६ जनामध्ये ३ जना कसरी बहुमत हुन्छ ?” भन्ने प्रश्न गरे । साथै “४ पहिले आउँछ कि १ ?” भन्दै सरकारको तर्क र निर्णय शैलीमाथि कटाक्ष गरे ।

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार