काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। अध्यक्ष हर्क साम्पाङ र किरातीबीच सातबुँदे सहमति भएपछि किराती पार्टीको वरिष्ठ नेता बनेका छन्।
सहमति अनुसार किरातीसँग आउने समूहबाट एक उपाध्यक्ष, एक सचिवसहित १५ जना केन्द्रीय सदस्य रहनेछन्। शुक्रबार काठमाडौंको होटल हार्दिकमा आयोजित कार्यक्रममा साम्पाङले किरातीलाई पार्टीमा स्वागत गर्दै यो एकतालाई ‘दुधकोशी र तमोर मिलेपछि बन्ने सप्तकोशी’ जस्तै अविभाज्य एकता भएको बताए।
किरातीले जनताको चाहना र देशमा बलियो प्रतिपक्ष निर्माण गर्ने उद्देश्यले पार्टी एकता गरेको बताए। नेताहरूका अनुसार गत निर्वाचनमा भएको सहकार्यपछि दुवै पक्षमाथि एकताको दबाब बढेको थियो।
यो एकताले श्रम संस्कृति पार्टीलाई राष्ट्रिय रूपमा थप बलियो बनाउने, पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई पार्टीमा आउन सहज बनाउने तथा आगामी स्थानीय र प्रदेश निर्वाचनमा पार्टीको प्रभाव बढाउने विश्वास गरिएको छ ।






