नेपाल होस्टल एशोसिएसन (नेहा) काठमाडौंद्वारा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल होस्टल एशोसिएसन (नेहा) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा नव वर्ष २०८३ सालको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा रहेको ईन्द्रेणी स्विट्स होटलमा आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण र सभ्य वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रीय नेपाल होस्टल एशोसिएसनकी अध्यक्ष सुनिता प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिमा पूर्व न्यायाधीश साधुराम तथा अन्य अतिथिमा संघका पूर्व उपाध्यक्ष नरेन्द्र बोहरा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन नेहाका सचिव रत्न प्रकाशले गर्नुभएको थियो।

जिल्ला कार्यसमितिका अध्यक्ष भोजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले होस्टल तथा होटल व्यवसाय शिक्षा र पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो। व्यवसायलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन नीतिगत स्पष्टता, व्यवसायीबीच सहकार्य तथा राज्यसँग समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। साथै, नव वर्ष २०८३ ले सबै व्यवसायीमा नयाँ ऊर्जा र सकारात्मक सोच ल्याउने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि सुनिताले देशभर विस्तार भइरहेको होस्टल व्यवसायलाई एकीकृत, मर्यादित र विश्वसनीय बनाउने दिशामा संघ सक्रिय रहेको बताउनुभयो। उहाँले होस्टललाई केवल आवासीय सेवा नभई विद्यार्थीको भविष्यसँग जोडिएको जिम्मेवार संस्था भएको उल्लेख गर्दै सेवा गुणस्तर, सुरक्षा र अनुशासनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। प्रविधिको प्रयोग, मापदण्ड कार्यान्वयन तथा तालिममार्फत व्यवसायलाई आधुनिक बनाउने योजनाबारे पनि उहाँले जानकारी दिनुभयो।
विशिष्ट अतिथि पूर्व न्यायाधीश साधुरामले व्यवसाय सञ्चालनमा कानुनी सचेतना र अनुशासनको आवश्यकता औंल्याउँदै दर्ता प्रक्रिया, सुरक्षा मापदण्ड र पारदर्शितामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले कानुनको पालना र नैतिक जिम्मेवारीले मात्र व्यवसायलाई दिगो बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी पूर्व उपाध्यक्ष नरेन्द्र बोहराले व्यवसायीबीच एकता र सहकार्य सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै अनुभव आदान–प्रदानमार्फत क्षेत्रको विकास सम्भव हुने बताउनुभयो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि नयाँ वर्षले व्यवसायिक सुधार, सहकार्य र प्रगतिका नयाँ अवसरहरू ल्याउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै आपसी परिचय, अनुभव साटासाट तथा आगामी योजनाबारे छलफल समेत गरिएको थियो।
आयोजकका अनुसार उक्त कार्यक्रमले होस्टल व्यवसायको दिगो विकास, गुणस्तरीय सेवा प्रवाह र व्यवसायिक एकता मजबुत बनाउने दिशामा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार