काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौं ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ। सोमबार तिलगंगास्थित होटल पाल्सा मा आयोजित कार्यक्रममा काठमाडौंका होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संघले नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक गर्दै होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउने विषयमा जोड दिएको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले होटल व्यवसायीबीचको सहकार्य, एकता र समन्वयलाई बलियो बनाउँदै पर्यटन क्षेत्रको पुनरुत्थानमा साझा प्रयास आवश्यक रहेको बताएका थिए।
संघका पदाधिकारीहरूले पछिल्लो समय काठमाडौंका होटल व्यवसायीहरूले विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै व्यवसाय सञ्चालनको समय, कर प्रणाली, अनुगमन, पर्यटक आकर्षण र नीतिगत अस्पष्टताका विषयमा सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका थिए। काठमाडौंका साना तथा मझौला होटल व्यवसायीहरूलाई एउटै छातामुनि ल्याएर उनीहरूको हकहितका लागि आवाज उठाउने उद्देश्यले संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरूले नयाँ वर्ष २०८३ लाई होटल तथा पर्यटन क्षेत्रका लागि आशाको वर्षका रूपमा लिनुपर्ने धारणा राखे। कोभिड–१९ पछिको सुस्ताएको पर्यटन क्षेत्र विस्तारै चलायमान बन्दै गइरहेको र अब आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सेवा, सरसफाइ, सुरक्षा र आतिथ्यमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।
संघले विगतमा पनि हरेक वर्ष नयाँ वर्षको अवसरमा क्यालेन्डर विमोचन, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गर्दै आएको छ। गत वर्ष २०८२ को क्यालेन्डर विमोचन कार्यक्रम बत्तिसपुतलीस्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठक प्रमुख अतिथि रहेका थिए भने होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश, होटल व्यवसायी महासंघ नेपाल र विभिन्न इकाइका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यसैबीच, संघले पछिल्लो समय काठमाडौंभित्र सञ्चालित होटललाई राति कम्तीमा १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग उठाउँदै आएको छ। व्यवसायीहरूले पर्यटकको आवश्यकता, बदलिँदो शहरी जीवनशैली तथा पर्यटन व्यवसायको प्रकृतिअनुसार सञ्चालन समय बढाउनुपर्ने बताएका छन्। संघका अनुसार ठमेल र दरबारमार्गका होटलहरू २४ घण्टा सञ्चालन हुन पाउने अवस्थामा काठमाडौंका अन्य क्षेत्रका होटललाई पनि सहज वातावरण आवश्यक छ।
संघले होटल व्यवसायीहरूका लागि तालिम, डिजिटल प्रवर्द्धन, पर्यटन बजार विस्तार र नीतिगत सुधारका विषयमा समेत पहल गरिरहेको जनाएको छ। संघका अध्यक्ष सुरेश बरालको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिले व्यवसायीका समस्या समाधान, नियमित बैठक, पर्यटन विभाग गठन तथा वेबसाइट र डिजिटल मिडिया उपसमिति गठन गरेर काम अघि बढाएको छ।
कार्यक्रमको समापन संघका अध्यक्ष सुरेश बराल ले गरेका थिए। उनले उपस्थित सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरूलाई नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै आगामी वर्ष होटल तथा पर्यटन क्षेत्रका लागि उत्साह, एकता र सफलताको वर्ष बन्ने विश्वास व्यक्त गरे। साथै उनले व्यवसायीहरूबीच सहकार्य र आपसी सद्भाव अझ बलियो बनाउन आग्रह गरेका थिए।





