काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्ने तालिका रहेकोमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । आजको बैठकमा निर्वाचनको मिति तय गरिए पनि एकल उम्मेदवारीका कारण उनी स्वतः निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुख पदमा एक जनाको मात्रै मनोनयन दर्ता भए समर्थक सदस्यले प्रस्ताव प्रस्तुत गरेपछि अध्यक्षता गर्ने व्यक्तिले उक्त सदस्यलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सत्तापक्षको स्पष्ट बहुमत रहेकाले प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएनन् । सभामुख चयन भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था रहेको छ ।






