काठमाडौं । नेकपा एमालेका जनवर्गीय संगठनहरूले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाइरहेका छन्। यसै क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयमा एमाले कार्यकर्ताहरू र्यालीसहित पुगेका छन्।
हाल उनीहरू जिल्ला प्रशासन कार्यालयअगाडि भेला भएर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्। ओली पक्राउको विरोधमा एमालेले हिजोदेखि नै देशका विभिन्न स्थानमा प्रदर्शन सुरु गरेको छ। शनिबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा पनि कार्यकर्ताहरू सडकमा उत्रिएका थिए।
यसअघि २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारी दमन भएको विषय पनि पुनः चर्चामा आएको छ। सो समयमा ओली प्रधानमन्त्री रहेका थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए। ओली र लेखक पक्राउ परेपछि एमालेले त्यसको विरोधस्वरूप आन्दोलनलाई देशव्यापी बनाएको हो।
प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार





