काठमाडौं । दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था मकवानपुर–कोरिया मञ्चले “मानवताको कुनै सीमा हुँदैन, सेवा नै धर्म हो” भन्ने मूल मन्त्रसहित नेपालमा मानवता प्रवर्द्धन महाअभियान सञ्चालन गरेको छ। अभियानमार्फत नेपालमा रहेका असहाय, बेवारिसे तथा मानसिक रोगी व्यक्तिहरूको उद्धार, उपचार र संरक्षणका लागि आर्थिक सहयोग संकलन गरिने मञ्चले जनाएको छ।
मञ्चका अनुसार हेटौंडास्थित मानवसेवा आश्रम ले विगत एक दशकदेखि सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताइरहेका नागरिकहरूको उद्धार गर्दै आएको छ। आश्रमले हालसम्म सयौं असहाय व्यक्तिहरूलाई सुरक्षित आवास, निःशुल्क भोजन, लत्ताकपडा तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ।
विशेषगरी मानसिक सन्तुलन गुमाएका, परिवारबाट टाढिएका तथा समाजबाट बहिष्कृत अवस्थाका नागरिकहरूलाई पुनः सामान्य जीवनमा फर्काउने कार्यमा आश्रमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको मञ्चले जनाएको छ। यस्ता मानवीय कार्यलाई निरन्तरता दिन स्रोत–साधनको अभाव प्रमुख चुनौती बनेको भन्दै मञ्चले विशेष अभियानमार्फत सहयोग संकलन सुरु गरेको हो। मञ्चले विदेशमा रहेका नेपालीहरूसहित देशभित्रका सबै सहयोगी मनहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ।
“तपाईंको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ” भन्ने सन्देशसहित अभियानलाई व्यापक बनाइँदैछ। सहयोग गर्न इच्छुक व्यक्तिहरूले बैंक खातामार्फत रकम जम्मा गर्न, क्यूआर कोडमार्फत डिजिटल माध्यम प्रयोग गर्न वा तोकिएका सम्पर्क व्यक्तिहरूमार्फत प्रत्यक्ष सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
मञ्चका अनुसार सहयोग संकलन अवधि २०८२ चैत १२ गतेसम्म रहनेछ। उक्त अवधिमा संकलित रकम आश्रमको सेवा विस्तार, उद्धार कार्य, उपचार तथा व्यवस्थापनमा खर्च गरिने जनाइएको छ। अभियानलाई प्रभावकारी बनाउन नेपाल तथा दक्षिण कोरियामा विभिन्न प्रतिनिधिहरूलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ। इच्छुक सहयोगीहरूले उनीहरूमार्फत थप जानकारी लिन तथा सहयोग गर्न सक्नेछन्।
मञ्चले “सडकपेटीमुक्त नेपाल” निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मानव सेवा सामाजिक मात्र नभई नैतिक दायित्वसमेत भएको जनाएको छ।





