दुवाकोटमा केएमसीको नयाँ युनिट सञ्चालनमा, स्थानीयलाई छुट र विपन्नलाई निःशुल्क सेवा



काठमाडौं । भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेज (केएमसी) को दोस्रो युनिट औपचारिक रूपमा सञ्चालनमा आएको छ। ३०० शय्याको क्षमतासहित स्थापना गरिएको यो अस्पताल नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको अनुभव र प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो।

आइतबार केएमसीका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको जन्मदिनको अवसर पारेर नयाँ युनिटको उद्घाटन गरिएको हो। सोही अवसरमा चाँगुनारायण नगरपालिकासँग स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता पनि गरिएको छ।

सम्झौताअनुसार चाँगुनारायण नगरपालिकाका बासिन्दाले उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउनेछन् भने १०० जना विपन्न बिरामीलाई पूर्ण रूपमा निःशुल्क उपचार उपलब्ध गराइनेछ। यसले स्थानीय स्तरमै सहज र सुलभ स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा डा. शर्माले अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकसहितको सेवा स्थानीयमै उपलब्ध गराउने उद्देश्यले युनिट सञ्चालनमा ल्याइएको बताए। उनले जटिल शल्यक्रिया लगायतका सेवा समेत अब दुवाकोटमै प्रदान गरिने जानकारी दिए।

अस्पतालले २४सै घण्टा आकस्मिकदेखि नियमितसम्मका सेवा उपलब्ध गराउने जनाएको छ। मुटु तथा रक्तनलीसम्बन्धी उपचारका लागि क्याथल्याब सेवा सञ्चालनमा ल्याइएको छ, जसबाट हृदयाघातका बिरामीको बिना शल्यक्रिया उपचार, स्टेन्ट राख्ने, पेसमेकर जडान गर्ने लगायत सेवा प्रदान गरिनेछ।

त्यसैगरी, मस्तिष्कमा हुने रक्तस्राव तथा अन्य रक्तनलीसम्बन्धी समस्याको उपचार पनि यही प्रविधिमार्फत सम्भव हुने अस्पतालले जनाएको छ। पित्तनलीमा हुने समस्या समाधानका लागि ईआरसीपी सेवा समेत उपलब्ध छ, जसबाट बिना शल्यक्रिया ढुङ्गा निकाल्न सकिन्छ।

अस्पतालमा आधुनिक अपरेसन थिएटर, मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार, स्त्री तथा प्रसूति सेवा, नवजात शिशुका लागि एनआईसीयू, इन्डोस्कोपी, कोलोनोस्कोपी, ईएनटी जाँच, एमआरआई, सीटी स्क्यान लगायतका सेवा सञ्चालनमा छन्।
यसका साथै निःशुल्क डायलिसिस सेवा, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा तथा आमा सुरक्षा कार्यक्रमअन्तर्गतका सेवाहरू पनि उपलब्ध गराइने अस्पतालले जनाएको छ।

सुविधासम्पन्न क्याबिन, २४सै घण्टा आकस्मिक सेवा, औषधालय र एम्बुलेन्ससहित केएमसी दुवाकोटले स्थानीयमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार