कांग्रेस उम्मेदवार बंशलाल तामाङको समर्थनमा युवाहरूको ऐक्यबद्धता



काठमाडौं । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङको समर्थनमा युवाहरू एकजुट भएका छन्। सोमबार काठमाडौंमा आयोजित युवा भेलामा मेलम्ची नगरपालिका लगायत क्षेत्र नं. २ भित्रका युवाहरू उल्लेख्य सहभागितासहित उपस्थित भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनारले पार्टीभित्र आवश्यक सुधार र आत्मसमीक्षा सुरु भइसकेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा कांग्रेस अग्रसर हुने दाबी गरे। उनले उम्मेदवार तामाङले इन्द्रावती गाउँपालिकाको नेतृत्व गर्दा इमान्दार र पारदर्शी ढंगले काम गरेको स्मरण गराउँदै विदेशमा आर्जित ज्ञान, सीप र अनुभवलाई स्थानीय विकासमा रूपान्तरण गर्ने स्पष्ट योजना रहेको बताए।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिलबहादुर तामाङले युवाहरू राजनीतिक रूपमा सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए। “राजनीति सही दिशातर्फ अघि बढिरहेको छ वा छैन भन्ने विषयमा युवाहरू सचेत हुनुपर्छ। नेतृत्वबाट कमजोरी भए त्यसको आलोचना गर्न सक्ने साहस युवामा हुनुपर्छ,” उनले भने। लोकतन्त्रको सुदृढीकरण र स्थायित्वका लागि कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ थियो।

उम्मेदवार बंशलाल तामाङले नेपाली कांग्रेसले आत्मसमीक्षासहित सुधारको मार्ग अवलम्बन गरेको उल्लेख गर्दै सन्तुलित र दिगो विकासलाई प्राथमिकतामा राखिने बताए। उनले हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई “अर्गानिक भ्याली” का रूपमा विकास गरी कृषि, पर्यटन र स्थानीय उत्पादनमार्फत युवालाई रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको जानकारी दिए। पाँच वर्षभित्र बृहत् विकास योजना कार्यान्वयन गरी क्षेत्र नं. २ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
मेलम्ची नगरपालिका–१० का वडाध्यक्ष तथा वडासभापति अमृत खनालले मेलम्ची नगरपालिकामा कांग्रेस नेतृत्व आएपछि विकास निर्माणका कामले गति लिएको दाबी गर्दै युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको बताए।

युवा नेता भिम बिकले बंशलाल तामाङलाई विजयी गराउन युवाहरू सक्रिय रूपमा चुनावी अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी युवाहरूले परिवर्तन, सुशासन र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार