पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो



काठमाडौं । सार्वजनिक सडकमा पैदलयात्रीमाथि कुटपिट गरेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पारस बम रहेको र उनलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा राखिएको जानकारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का प्रमुख एसएसपी नवराज अधिकारी ले दिएका छन्।

घटना चप्पल कारखाना अगाडि भएको बताइएको छ। सार्वजनिक सडकमा पैदलयात्रीसँग विवाद भएपछि कारबाट ओर्लिएका चालकले मुक्का प्रहार गर्दै कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिन्छ। भिडियोमा ती व्यक्तिले गालीगलौज गर्दै आक्रमण गरेको र केही समयपछि एक महिला आएर समेत चर्को आवाजमा गाली गरेको सुनिन्छ।

उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानपछि संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

सार्वजनिक स्थलमा भएको यस घटनाले सडक सुरक्षासँगै नागरिक आचरणको विषयमा समेत प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार