नेकपाको चुनावी प्रतिबद्धतापत्र: रास्वपा ‘विध्वंशकारी’, आफू मात्र ‘क्रान्तिकारी शक्ति’



काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत पार्टीले मुलुकका राजनीतिक शक्तिहरूलाई चार वर्गमा विभाजन गर्दै आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ का रूपमा प्रस्तुत गरेको छ ।

नेकपाले राजनीतिक दलहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार श्रेणीमा वर्गीकरण गरेको छ । घोषणापत्रमा पार्टीले आफू स्पष्ट समाजवादी कार्यदिशासहित समाज रूपान्तरणका लागि प्रतिबद्ध रहेको दाबी गरेको छ ।
घोषणापत्रअनुसार नेकपा एमाले र नेपाली कांग्रेसलाई ‘यथास्थितिवादी शक्ति’ को संज्ञा दिइएको छ । ती दलहरूसँग मुलुकलाई नयाँ राजनीतिक–आर्थिक दिशामा अघि बढाउने स्पष्ट र नवीन अवधारणा नरहेको टिप्पणी गरिएको छ ।
नयाँ उदाउँदै आएका शक्तिहरूप्रति भने नेकपाले तीव्र आलोचना गरेको छ । आफूलाई नयाँ शक्ति दाबी गर्ने दलहरूलाई ‘सिद्धान्तहीन र दृष्टिकोणविहीन पपुलिष्ट’ भन्दै उनीहरू संरचनागत समस्या समाधान गर्न असक्षम रहेको आरोप लगाइएको छ । घोषणापत्रमा यस्ता शक्तिहरूलाई “भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको” समेत उल्लेख गरिएको छ, यद्यपि त्यसबारे विस्तृत व्याख्या गरिएको छैन ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ‘प्रतिगामी पुनरुत्थानवादी शक्ति’ का रूपमा चित्रित गर्दै सामन्ती राजतन्त्र पुनर्स्थापनाको प्रयास देशलाई पछाडि धकेल्ने कदम भएको आरोप लगाइएको छ । घोषणापत्रमा विगतका जनआन्दोलन तथा राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्वजस्ता उपलब्धि आफ्नै पहलबाट स्थापित भएको उल्लेख गरिएको छ ।

“हामीले व्यवस्था बदल्यौँ, अब अवस्था पनि हामीले नै बदल्नेछौँ,” भन्ने नारासहित नेकपाले अन्य दलहरू भाषण र गफमै सीमित रहेको आरोप लगाउँदै व्यवहारमै परिवर्तन गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार