ललितपुर ।
नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न निर्वाचन विशेष जिल्ला भेला सफलतापूर्वक सम्पन्न भएको छ।
ललितपुर पार्टी प्यालेस, सातदोबाटोमा आयोजित उक्त भेलाका प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा रहनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि शर्माले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र कांग्रेसको संगठनात्मक एकतालाई थप सुदृढ गर्दै निर्वाचनमा विजयी हुन कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।
भेलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू उदय शम्शेर राणा (ललितपुर क्षेत्र नं. १), प्रेमकृष्ण महर्जन (ललितपुर क्षेत्र नं. २) र जितेन्द्र कुमार श्रेष्ठ (ललितपुर क्षेत्र नं. ३) ले आ–आफ्ना धारणा र चुनावी प्रतिबद्धता प्रस्तुत गर्नुभयो।
कार्यक्रममा जिल्ला, क्षेत्र तथा वडा तहका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई ललितपुरमा सशक्त जित दिलाउने दिशामा संगठनात्मक तयारीलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ।






