काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश गिद्धले सिनो लुछेजस्तै लुटिएको आरोप लगाउँदै अन्तिम ‘सुनामी’को तयारीमा रहेको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
लामिछानेले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै शक्तिलाई खुला वा गोप्य रूपमा जस्तोसुकै गठबन्धन गर्नुपर्ने भए पनि गर्न आग्रह गरे। उनले लेखेका छन्, “मेरो खुला आग्रह छ—खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ।”
निर्वाचनमार्फत आएको जनमत आफूले स्वीकार्ने स्पष्ट पार्दै उनले जनविद्रोहबाट उखेलेर फालिएको पुरानो संसद् षड्यन्त्रपूर्ण रूपमा पुनःस्थापित गर्ने कुनै पनि चलखेल, दबाब वा धम्की स्वीकार्य नहुने बताए।
लामिछानेका अनुसार फागुन २१ कुनै सामान्य मिति नभई नेपाली इतिहासको ‘माइलस्टोन’ हो। फागुन २१ पछि बन्ने संसद्मा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने उनको भनाइ छ।
उनले थप लेखेका छन्, “फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ। सर्प त एउटा पनि पाल्न सकिँदैन। यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ—मात्र तपाईंको हातमा।”






