३०औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन २०२६ काठमाडौंमा आयोजना हुने



काठमाडौं, माघ १४
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) ले ३०औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलन २०२६ आयोजना गर्ने भएको छ। सम्मेलन यही माघ १६ र १७ गते काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कूलमा सम्पन्न हुने भएको हो।

“आगामी पुस्ताका लागि अंग्रेजी भाषा शिक्षण : मानव, पृथ्वी र शान्तिका लागि शिक्षण” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको दुईदिने सम्मेलनले अंग्रेजी भाषा शिक्षण क्षेत्रका समसामयिक विषय, नवीन शिक्षण पद्धति तथा अनुसन्धानमा आधारित अभ्यासहरूबारे विस्तृत छलफल गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ। सम्मेलनमा सामाजिक उत्तरदायित्व र दिगो विकासका विषयलाई विशेष महत्व दिइनेछ।

आयोजकका अनुसार सम्मेलनमा नेपालसहित विश्वका विभिन्न देशबाट करिब ८ सय अंग्रेजी भाषा शिक्षक, शिक्षाविद्, अनुसन्धानकर्ता तथा शैक्षिक विज्ञहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनको शैक्षिक कार्यक्रमअन्तर्गत पाँचवटा मुख्य प्रवचन सत्र, छवटा सर्वसत्रीय सत्र, आठवटा विशेष प्रस्तुति, एकवटा प्यानल छलफल, नेल्टा प्रदेशस्तरीय गोष्ठी तथा १३४ वटा समानान्तर सत्रहरू सञ्चालन हुनेछन्। ती सत्रहरूमा अनुसन्धानपत्र प्रस्तुति, कार्यशाला, छलफल तथा अन्तरक्रियात्मक भाषा मेला समावेश रहनेछ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मलेसिया, चीन, सिंगापुर, मङ्गोलिया, जापान, हङकङ, बेलायत र संयुक्त राज्य अमेरिकालगायत १५ भन्दा बढी देशका अंग्रेजी भाषा शिक्षण क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ, जसले सम्मेलनको अन्तर्राष्ट्रिय महत्वलाई झनै बलियो बनाउने आयोजकको विश्वास छ।

यस सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, संयुक्त राज्य अमेरिकाको दूतावास, ब्रिटिस काउन्सिललगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था, प्रकाशन गृह तथा शिक्षा क्षेत्रमा क्रियाशील व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन्।
आयोजकका अनुसार सम्मेलनले अंग्रेजी भाषा शिक्षकहरूको पेशागत क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै नेपालमा अंग्रेजी शिक्षाको समग्र गुणस्तर सुधारमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्मेलनको औपचारिक उद्घाटन माघ १६ गते बिहान ८ बजे हुने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
प्रेस विज्ञप्तिमा नेल्टाका अध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बुधवार