काठमाडौंमा चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन सम्पन्न



काठमाडौं ।
चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। होटल क्राउन इम्पेरियलमा माघ ९ र १० गते (जनवरी २३–२४) दुई दिनसम्म चलेको उक्त राष्ट्रिय सम्मेलनले नेपालमा प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारका विषयमा महत्वपूर्ण छलफल र निष्कर्षहरू निकालेको छ।

सम्मेलनमा नीति निर्माता, स्वास्थ्यकर्मी, डिजिटल हेल्थ विज्ञ, प्रविधि विकासकर्ता, अनुसन्धानकर्ता तथा नवप्रवर्तनकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सम्मेलनको उद्देश्य टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विकास, विस्तार र प्रभावकारी कार्यान्वयनका लागि प्रमाणमा आधारित छलफल, अन्तरक्षेत्रीय सहकार्य र साझा सिकाइलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले बताएका छन्।

सम्मेलनका सत्रहरूमा डिजिटल हेल्थसम्बन्धी नीति तथा कानुनी संरचना, डिजिटल पूर्वाधार, स्वास्थ्य डाटाको नैतिक प्रयोग, दूरदराजका क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने नवीन उपाय तथा सार्वजनिक र निजी स्वास्थ्य प्रणालीमा डिजिटल प्रविधि समायोजनका व्यवहारिक पक्षहरूमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका क्रममा आयोजक समितिका सदस्यहरूले डिजिटल हेल्थ अब भविष्यको अवधारणा मात्र नभई वर्तमानको आवश्यकता भइसकेको उल्लेख गर्दै ग्रामीण तथा सेवा पहुँचबाट वञ्चित समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन यसको भूमिका निर्णायक हुने बताएका थिए। साथै सरकारी निकाय, स्वास्थ्य संस्था, प्रविधि सेवा प्रदायक र विकास साझेदारबीच सहकार्य सुदृढ गर्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ।
नेपालमा पहिलोपटक राष्ट्रियस्तरमा डिजिटल हेल्थ सम्मेलन आयोजना हुनुका साथै स्थापित टेलिमेडिसिन मञ्चसँग यसको संयोजनले स्वास्थ्य प्रणालीलाई अझ सक्षम, समावेशी र प्रभावकारी बनाउन डिजिटल उपकरणहरूको महत्व बढ्दो रहेको सन्देश दिएको निष्कर्ष निकालिएको छ।

सम्मेलनको अन्तिम दिन नीतिगत सिफारिस, भावी कार्यदिशा तथा सहकार्यका सम्भावनाबारे छलफल गर्दै कार्यक्रम समापन गरिएको थियो। आयोजकले सम्मेलनमा उठेका विचार र सुझावलाई व्यवहारिक कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ ११ गते शनिवार