कांग्रेसले बहुमत ल्याउँछ, गगन थापालाई प्रधानमन्त्री बनाउने हो- सुनिल शर्मा



नेपाली कांग्रेसका नेता सुनिल शर्माले कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन्। शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै नेता शर्माले कांग्रेसले कसैसँग पनि गठबन्धन नगरी एक्लै चुनाव लड्ने र बहुमत हासिल गर्ने बताए। उनका अनुसार बहुमत आएपछि गगन थापा प्रधानमन्त्री बन्नेछन्।

‘कांग्रेस गठबन्धनमा जाँदैन। एकल रूपमा चुनाव लड्छ। १६५ वटै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवार हुन्छन्। गगन थापालाई प्रधानमन्त्री बनाएर अघि बढ्छौं। यसमा कुनै दुविधा छैन,’ शर्माले भने।

उनले नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी वर्तमान सभापति गगन थापा नेतृत्वको टिमको रहेको पनि उल्लेख गरे। ‘पार्टी फुटेको होइन। अधिवेशन वैध भइसकेको छ। अधिवेशनप्रति असन्तुष्टि राख्ने साथीहरूलाई अहिलेका सभापतिले मिलाउनुहुन्छ,’ उनले भने।

दुवै पक्षले इगो त्यागेर पार्टीलाई एक ढिक्का बनाएमा आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी पनि शर्माले गरे।

‘नेतृत्वमा आउनु भएका नेताहरू बुद्धिमान हुनुहुन्छ। वर्षौँसम्म नेतृत्वमा रहनु भएका नेताहरू पनि उत्तिकै अनुभवी र बुद्धिमान हुनुहुन्छ। सबैले आफ्नो इगो त्यागेर पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ। त्यसो भयो भने चुनावमा कांग्रेसको कुनै प्रतिस्पर्धी हुँदैन। हामी स्वीप गर्छौं,’ उनले भने।

प्रकाशित मिति : २०८२ माघ ४ गते शनिवार