अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकार विरोधी प्रदर्शनलाई लिएर दोस्रो पटक कडा चेतावनी दिएका छन्। प्रदर्शन नियन्त्रणका लागि इरान सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ भने पछिल्ला दुई हप्तामा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले प्रदर्शनकारीमाथि गोली चलाइए इरानी नेतृत्वमाथि आक्रमण गर्ने चेतावनी दिएको रोयटर्सले जनाएको छ। ‘तिमीहरूले प्रदर्शनकारीमाथि गोली चलायौ भने हामी पनि तिमीहरूमाथि चलाउँछौं,’ ट्रम्पले भनेका छन्। उनले इरान अत्यन्त खराब अवस्थामा पुगेको दाबी गरेका छन्।
शुक्रबारसम्म सरकार विरोधी प्रदर्शन देशव्यापी बनेको छ। सबै ३१ प्रान्तका सयभन्दा बढी सहरमा लाखौं मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानी सरकारी सञ्चारमाध्यमले भने परिस्थिति नियन्त्रणमा रहेको दाबी गरेका छन्।
बढ्दो महँगी, मुद्रास्फीति ४० प्रतिशत नाघ्नु, रियालको अवमूल्यन र सरकारको आर्थिक नीतिविरुद्ध दुई साताअघि सुरु भएको आन्दोलन अहिले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजीनामाको मागसम्म पुगेको छ। प्रदर्शनकारीहरूले पूर्वशाहका छोरा रेजा पहलवीको समर्थनमा नाराबाजी गरेका छन्।
इरानका सर्वोच्च नेता खामेनीले आन्दोलन विदेशी शक्तिको उक्साहटमा भएको आरोप लगाउँदै कडा दमनको चेतावनी दिएका छन्। सरकारी वकिलले तोडफोड वा सुरक्षाकर्मीमाथि आक्रमण गर्नेहरूलाई मृत्युदण्डसम्म हुन सक्ने बताएका छन्।
मानवअधिकार संस्था एचआरएएनएका अनुसार हालसम्म कम्तीमा ६२ जनाको मृत्यु भएको छ। फ्रान्स, बेलायत र जर्मनीले प्रदर्शनकारीको हत्या निन्दा गरेका छन् भने संयुक्त राष्ट्रसंघले शान्तिपूर्ण प्रदर्शनको अधिकार सम्मान गर्न आग्रह गरेको छ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आन्दोलन अझ चर्किए सर्वोच्च नेता खामेनी देश छाड्न सक्ने सम्भावनाबारे पनि रिपोर्ट गरेका छन्।





