नेविसंघका नेताहरूलाई देउवाको आश्वासन : म मिलाउँदैछु, पार्टी फुट्दैन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न आफू सक्रिय रूपमा लागिरहेको बताएका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूको युवा टोलीसँग आफ्नै निवासमा भएको भेटमा उनले पार्टीलाई फुटतर्फ जान नदिने स्पष्ट आश्वासन दिएका हुन्।

भेटमा नेविसंघका नेताहरूले वर्तमान राजनीतिक चुनौतीको सामना गर्न कांग्रेसलाई एकताबद्ध बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्ने धारणा राखेका थिए। जवाफमा सभापति देउवाले ‘म मिलाउँदैछु, पार्टी फुटमा जान दिन्नँ’ भन्दै एकताका लागि प्रयासरत रहेको बताएका छन्।

कांग्रेसभित्र विशेष महाधिवेशन र संस्थापन पक्षबीच फरक धार देखिएपछि पार्टी फुटको जोखिम बढ्न सक्ने चिन्ताका बीच नेविसंघका युवा नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। भेटमा सहभागी नेताहरूले विगतका आन्तरिक विवादका कारण पार्टीले भोग्नुपरेको पीडा दोहोरिन नदिन आग्रह गरेका थिए।

प्रकाशित मिति : २०८२ पुष २५ गते शुक्रवार