शेखरनिकट दुई नेताले गगनलाई भने– अघि बढ्नुस्, हाम्रो साथ छ



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र निवर्तमान सांसद सुनिल शर्माले बुधबार महामन्त्री गगन थापासँग भेट गर्दै नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरेका छन्।

भेटका क्रममा भण्डारीले कांग्रेसलाई स्पष्ट दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेको बताउँदै जनतालाई पार्टी एकताबद्ध र नेतृत्व गर्न सक्षम छ भन्ने सन्देश दिनुपर्ने बताए। १४औँ महाधिवेशनमा भण्डारी शेखर कोइराला प्यानलबाट उपसभापति र थापा महामन्त्री पदमा उम्मेदवार बनेका थिए।

भण्डारीले उक्त कुराकानीको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन्। भण्डारी र शर्मा दुवै शेखर कोइरालानिकट मानिन्छन्। भेटमा शर्माले देशभरका कांग्रेस कार्यकर्ता आक्रोशित रहेको उल्लेख गर्दै ‘अघि बढ्नुस्, हाम्रो साथ छ’ भनेका थिए।

जवाफमा महामन्त्री थापाले आफू र विश्वप्रकाश शर्माले पार्टीलाई बलियो बनाउने अभियान चलाइरहेको भन्दै पार्टी नफुट्ने स्पष्ट पारे। ‘कसैले चाहेर पनि पार्टी फुट्दैन’ उनले भने। थापाले पार्टीलाई सान्दर्भिक बनाउन अभियान जारी रहेको र जनआन्दोलनजस्ता विषयलाई हल्का रूपमा लिन नहुने धारणा पनि व्यक्त गरे।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार