काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न १८ वटा उपसमिति गठन गरेको छ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार–प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गर्ने औपचारिक आह्वान गरेको हो। पत्रकार सम्मेलनमा महाधिवेशन तयारी तीव्र पार्न विभिन्न उपसमिति गठन गरी संयोजकसमेत तोकिएको जानकारी दिइयो।
पक्षधर समूहका अनुसार व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेन–जी युवा परिचालनलगायतका उपसमिति गठन गरिएको हो। विधानको मर्म र भावनाअनुसार बाध्यकारी अवस्थामा विशेष महाधिवेशन आह्वान गरिएको उनीहरूको भनाइ छ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै २०८२ पौष २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं।’
विशेष महाधिवेशनका लागि सचिवालयले शान्ति–सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग पत्राचार गरिसकेको जनाएको छ। साथै महाधिवेशन स्थलका रूपमा भृकुटीमण्डप यसअघि नै बुकिङ गरिएको पनि जानकारी दिइयो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेका छन्। तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नरहेको अडान राख्दै आएको छ।






