काठमाडौं । २०८२ पुस २२
सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा (AGM) मंगलबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष अंगिस घिमिरेको अध्यक्षतामा सम्पन्न सभाले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने सहितका महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको हो।
सभाले आयोजना प्रभावित स्थानीय बासिन्दा र आम लगानीकर्तालाई लक्षित गर्दै आईपीओ जारी गर्ने विशेष प्रस्ताव स्वीकृत गरेको छ। यसका लागि कम्पनीले यसअघि नै सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको जानकारी दिइयो।
त्यसैगरी, कम्पनीको शेयर पूँजी प्रयोग गरी अन्य सम्भाव्य जलविद्युत् आयोजनामा लगानी गर्ने वा अन्य कम्पनीको शेयर खरिद गर्ने विषयमा सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने निर्णय पनि सभाबाट पारित भएको छ। साथै, आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृति दिइएको छ।
सिद्धि खोला आयोजनाको प्रगति
इलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा निर्माणाधीन १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाको कुल संशोधित लागत २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ, जसको वित्तीय व्यवस्थापन सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा गरिएको छ।
असोज २०८२ को सुरुवातमै व्यापारिक उत्पादन (COD) गर्ने लक्ष्य भए पनि सोही महिनामा आएको विनाशकारी बाढीका कारण पाइपलाइनमा क्षति पुग्दा केही ढिलाइ भएको कम्पनीले जनाएको छ। हाल मर्मत तथा परीक्षण कार्य सम्पन्न भइसकेको र छिट्टै विद्युत् उत्पादन सुरु गर्ने तयारी रहेको जानकारी दिइयो। उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको लसुने सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
अन्य आयोजनामा लगानी
सिद्धि हाइड्रोपावरले रुकुम पूर्वमा निर्माणाधीन ४४.५२ मेगावाट क्षमताको सानो भेरी जलविद्युत् आयोजनामा मुख्य लगानीकर्ताको रूपमा २४ करोड ४७ लाख रुपैयाँ लगानी गरिसकेको छ। यस लगानीले कम्पनीको दीर्घकालीन आम्दानी आधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।





