पूर्वमन्त्री खड्कासहित गण्डकीमा कांग्रेस-एमालेका धेरै नेता रास्वपा प्रवेश



पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र नेकपा एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी एकसाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

संघीय महिला, बालबालिका तथा गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका खड्कालाई कांग्रेसले अन्तरघात गरेको आरोपमा साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनी रास्वपा प्रवेश गरेका हुन्। यद्यपि पछि कांग्रेसले कारबाही फुकुवा गरे पनि आफूले राजनीतिक निर्णय गरिसकेको भन्दै कांग्रेस नफर्किने अडानसहित खड्का रास्वपा पुगेका हुन्।

नवप्रवेशी नेताहरूलाई रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेतृ समीक्षा बास्कोटालगायतले पार्टीमा स्वागत गरेका थिए।

क्षेत्री आन्दोलनको पृष्ठभूमिमा गठन भएको अखण्ड नेपाल पार्टीबाट एक मात्र समानुपातिक सांसदका रूपमा संघीय संसद पुगेका खड्का २०७४ सालको निर्वाचनअघि कांग्रेसमा विलय भएका थिए। त्यसपछि उनी गण्डकी प्रदेशमा समानुपातिक सांसद हुँदै मन्त्री बनेका थिए। कांग्रेसले आफ्नै उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप लगाउँदै खड्कालाई निष्कासन गरेको थियो।

रास्वपा प्रवेश गरेकी कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाकी भाइबुहारी हुन्। विन्दुकुमारका भाइ तथा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापाकी पत्नी मिलन थापाले कांग्रेसको पारिवारिक राजनीतिक विरासत त्याग्दै रास्वपा रोजेकी हुन्। कांग्रेस मन्त्रीकै परिवारबाट रास्वपामा प्रवेश भएपछि कास्कीमा यसलाई विशेष चासोका साथ हेरिएको छ।

जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते मन्त्री थापाको निवास, व्यापारिक प्रतिष्ठान, बगैंचा रिसोर्टसहित ध्रुव थापाको घर तथा व्यवसायिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको थियो। मन्त्री परिवार भएकै कारण आफ्नो घर–व्यवसायमा आगजनी भएको दाबी उनीहरूको छ। उक्त घटनामा उनीहरूको घरमा काम गर्ने एक महिलाको जलेर मृत्युसमेत भएको थियो।

रास्वपा प्रवेश गरेका पुष्प अधिकारी रुपाकोट रिसोर्टका सञ्चालकसमेत हुन्। उनी अघिल्लो पटक एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदका आकांक्षी थिए। अधिकारी एमाले गण्डकी प्रदेश कमिटीका पूर्व सदस्य हुन् र एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ निकट नेता मानिन्थे।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार