गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ साधारणसभा सम्पन्न, आर्थिक मन्दीबीच पनि वित्तीय सुदृढता कायम



काठमाडौं । गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार काठमाडौंमा आफ्नो २१औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। जारी आर्थिक मन्दीको चुनौतीबीच पनि सहकारीले वित्तीय स्थिरता कायम राख्दै भावी विस्तार र दिगो विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा सम्पन्न साधारणसभाको अध्यक्षता सहकारीका अध्यक्ष प्रशान्त ढकालले गरेका थिए भने नेपाल राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै निर्देशक शर्माले सहकारी क्षेत्रलाई नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै सुशासन, पारदर्शिता र सदस्यको विश्वास नै दिगो सहकारीको मूल आधार भएको बताए।

सभामा अध्यक्ष ढकालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि सहकारीले शेयर पूँजी, बचत संकलन र कर्जा लगानीजस्ता प्रमुख वित्तीय सूचकहरूमा निरन्तर सुधार गर्न सफल भएको जानकारी दिए। यसले सदस्यहरूको बढ्दो विश्वासलाई स्पष्ट रूपमा देखाएको उनको भनाइ थियो।

लेखा समितिका संयोजक ज्योति श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीका सम्पूर्ण वित्तीय गतिविधिहरू नियामक मापदण्ड, सहकारी सिद्धान्त तथा आन्तरिक कार्यविधिअनुसार सञ्चालन भइरहेको उल्लेख गरिएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट र कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सहकारीको शेयर पूँजी करिब २ करोड ८२ लाख २० हजार रुपैयाँ पुगेको छ। आगामी आर्थिक वर्षमा यसलाई ३ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ। यसैगरी, गत वर्ष कुल बचत संकलन ४४ करोड १७ लाख १० हजार रुपैयाँ नाघेको छ भने चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँसम्म पुर्‍याउने योजना अघि सारिएको छ।

कर्जा लगानीतर्फ आर्थिक वर्ष २०८१/८२ मा सहकारीको कर्जा प्रवाह ३३ करोड ३३ लाख ९० हजार रुपैयाँभन्दा बढी पुगेको छ। चालु वर्षमा सुरक्षित र जिम्मेवार कर्जा प्रवाहलाई प्राथमिकता दिँदै यसलाई करिब ४५ करोड रुपैयाँसम्म विस्तार गर्ने प्रस्ताव गरिएको छ। साथै शेयर तथा स्थिर सम्पत्तिमा लगानी बढाउने दीर्घकालीन योजना पनि प्रस्तुत गरिएको छ।
सहकारीको आम्दानी मुख्यतः ब्याज आम्दानीमा आधारित रहेको जनाउँदै आर्थिक वर्ष २०८२/८३ मा कुल आम्दानी करिब ५ करोड २८ लाख ३० हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। ब्याज, सञ्चालन, व्यवस्थापन र कर्मचारी खर्चसमेत समेट्दा कुल खर्च करिब ४ करोड ७५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ।

साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत एक दर्जनभन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ। सभामा शेयर सदस्य, सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समितिका प्रतिनिधि, कर्मचारी र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सहकारी सदस्य तथा नेरिक एकेडेमीका प्रधानाध्यापक मिलन केसीले सञ्चालन गरेका थिए।
२१औँ वार्षिक साधारणसभाले गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पारदर्शिता, वित्तीय अनुशासन र सदस्यको विश्वासलाई आधार बनाएर दीगो सहकारी विकासतर्फ दृढतापूर्वक अघि बढिरहेको स्पष्ट सन्देश दिएको छ।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार