राष्ट्र बैंक पूर्व कर्मचारी सहकारीको १४औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन



काठमाडौँ । राष्ट्र बैंक पूर्व कर्मचारी कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय कार्यसम्पादन, संस्थागत प्रगति तथा भावी कार्यदिशाबारे विस्तृत समीक्षा गरिएको छ।

सभामा बचत संकलन, कर्जा लगानी र वित्तीय सुशासनका विषयमा गहन छलफल भएको थियो। नेपाल वित्तीय प्रतिवेदन मानक (NFRS) अनुसार तयार गरिएको लेखापरीक्षित वित्तीय विवरणमार्फत सदस्यहरूलाई संस्थाको समग्र आर्थिक अवस्था अवगत गराइएको थियो।

स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनले २०८२ असार ३१ गते समाप्त आर्थिक वर्षका लागि संस्थाको वित्तीय विवरणले वित्तीय स्थिति, नाफा–नोक्सानी, स्वामित्वमा आएको परिवर्तन तथा नगद प्रवाहको यथार्थ र निष्पक्ष अवस्था प्रस्तुत गरेको पुष्टि गरेको छ। साथै सहकारी ऐन र संस्थाको आन्तरिक नीतिअनुसार कर्जा प्रवाह, लगानी प्रक्रिया, आवश्यक कागजात र धितो व्यवस्थापन व्यवस्थित रूपमा सम्पन्न भएको उल्लेख गरिएको छ।

साधारणसभामा कर्जा व्यवस्थापन र जोखिम नियन्त्रणलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो। सदस्यहरूको आय–स्रोत मूल्यांकन, असुरक्षित कर्जामा सीमा निर्धारण तथा आन्तरिक नियमनको पालना गर्दै कर्जा प्रवाह गरिएको लेखापरीक्षण निष्कर्षले देखाएको छ।
एजीएममा व्यवस्थापन तथा सञ्चालक समितिले आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउने, पारदर्शिता अभिवृद्धि गर्ने र सुशासनलाई संस्थागत गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। सदस्यहरूले सहकारी क्षेत्रमा देखिएका समसामयिक चुनौतीका बीच वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र सदस्य–केन्द्रित सेवाको महत्वमा जोड दिएका थिए।

१४औँ वार्षिक साधारणसभा सम्पन्न भएसँगै संस्थाले संस्थागत स्थायित्व, उत्तरदायित्व र दीगो सहकारी विकासलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ। सदस्यहरूको वित्तीय हितको संरक्षण गर्दै दीर्घकालीन रूपमा सुरक्षित र विश्वासिलो सहकारी सेवा प्रदान गर्ने लक्ष्य लिइएको संस्थाले जनाएको छ।

यसैबीच, साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। श्री प्रकाश थापा क्षेत्री अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। श्री नवराज फुयाँल उपाध्यक्ष, श्री पुरुषोत्तम प्रसाद पोखरेल सचिव तथा श्री कृष्ण गोपाल श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन्।
नवगठित कार्यसमितिले संस्थाको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२ पुष १३ गते आइतवार