काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन’ र क्लव चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ। आज नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलको प्रमुख आतिथ्यतामा होलिडे इन रिसोर्ट बुढानिलकण्ठमा आयोजित कार्यक्रममा सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष डा.राजेन्द्र के. सी. तथा ‘होलिडे इन’का दक्षिण एसियाका प्रवन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका हुन्। सो अवसरमा आयोजित पत्रकार भेटघाटमा परियोजनासँग सम्बन्धित विवरण, लगानी संरचना तथा आगामी योजनाबारे जानकारी दिइएको थियो। कार्यक्रममा आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि गरिमा क्यापिटललाई प्रवर्द्धकको रूपमा नियुक्त गरिएको जानकारी पनि गराइएको छ।

धनगढीमा निर्माण हुन लागेको ‘होलिडे इन, धनगढी’ सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पाँचतारे होटल हुनेछ। होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्। साथै करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक व्यान्क्वेट हल, ७०० जनासम्म अट्ने भव्य कार्यक्रम स्थल, रूफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्ष र विशेष निजी डाइनिङ सुविधाहरू रहनेछन्।
परियोजनाको कुल लगानी करिब रु. २२० करोड रहेको छ, जसमा करिब ६५ प्रतिशत (रु. १४३ करोड) बैंक ऋण र ३५ प्रतिशत (रु.७७ करोड) प्रवर्द्धकहरूको स्व-पूँजीबाट व्यवस्थापन गरिएको जनाइएको छ।
धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता तथा आर्थिक गतिविधिले सम्भावनायुक्त क्षेत्र मानिन्छ। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको धनगढीले ठूलो संख्यामा भारतीय पर्यटक आकर्षित गर्ने सम्भावना बोकेको छ। सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख प्रवेशद्वारको रूपमा विकसित हुँदै गएको धनगढी, महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ।
‘होलिडे इन, धनगढी’ परियोजनाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यावसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ। यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीका नयाँ मापदण्ड स्थापना गर्दै क्षेत्रीय पर्यटन, व्यावसायिक विकास तथा आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।





