काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टूर औपचारिक रूपमा घोषणा गरिएको छ। टूरअन्तर्गत एसियाका विभिन्न देशमा ट्रफी पुर्याइने क्रममा नेपालमा पनि पहिलोपटक टी-२० विश्वकपको ट्रफी ल्याइने भएको छ। यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी काठमाडौं र पोखरामा प्रदर्शन गरिएको थियो। टी-२० विश्वकपको ट्रफी भने नेपालमा पहिलोपटक आउन लागेको हो।
डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट ट्रफी टूरको औपचारिक सुरुवात गरिएको हो। भारतको दक्षिणी समुद्री किनार नजिक रहेको राम सेतु माथि दुई सिटे प्यारामोटरमार्फत ट्रफी उडाइँदा कार्यक्रम आकर्षक बनेको थियो। यसले भारत र श्रीलंकाबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई पनि प्रतीकात्मक रूपमा उजागर गरेको छ।
आईसीसी अध्यक्ष जय शाहले राम सेतु जस्तो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको स्थानबाट ट्रफी टूर सुरु हुनु प्रेरणादायी भएको बताएका छन्। उनले भने, ‘यो ट्रफी टूर केवल ट्रफी घुमाउने यात्रा मात्र होइन, विश्वभरका क्रिकेट प्रेमीलाई एकतामा बाँध्ने अभियान हो।’ पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा सुरु हुनेछ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन् भने आठ मैदानमा २९ दिनसम्म खेल सञ्चालन हुनेछ।
ट्रफी टूर एशियाका विभिन्न देश हुँदै अघि बढ्नेछ, जसमा भारत, श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मंगोलिया समावेश छन्। टूरका क्रममा समर्थकले ट्रफी नजिकबाट अवलोकन गर्न पाउनेछन् भने कलेज–विद्यालय भ्रमण, समर्थक भेटघाट, सार्वजनिक कार्यक्रम तथा क्रिकेट कार्निभल आयोजना गरिनेछ। साथै, विश्वकप खेल्ने खेलाडी अध्ययन गरेका विद्यालय तथा कलेजमा पनि ट्रफी लैजाने योजना रहेको छ।





