काठमाडौँ — नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा सञ्चालन भइरहेको खेलकुद सप्ताह–२०८२ अन्तर्गत आज तानडोरी प्रतियोगिता उत्साहपूर्ण तथा प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको छ। भीमसेनगोला स्थित अमर आदर्श स्कुलमा आयोजित प्रतियोगितामा छात्र तथा छात्रा दुवै तर्फ उत्कृष्ट प्रतिस्पर्धा देखिएको थियो।
छात्रतर्फको तानडोरी प्रतियोगितामा एलिगेण्ट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। ज्ञानभूमि स्कुल दोस्रो र ग्रीनफिल्ड स्कुल तृतीय स्थानमा सीमित भए। यस्तै, छात्रातर्फको प्रतिस्पर्धामा माइलस्टोन स्कुलले प्रथम स्थान हात पार्दा पिपुल्स एकेडेमी दोस्रो र मिलन धर्मस्थली तृतीय स्थानमा रहन सफल भए।
फुटसल, बास्केटबल, कबड्डी र तानडोरी गरी चार खेल विधा समावेश गरिएको खेलकुद सप्ताह मङ्सिर २२ गतेदेखि सुरु भएको हो। प्रतियोगिता आगामी पुस १ गते समापन समारोहसहित सम्पन्न हुने नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिले जनाएको छ।
नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलका अनुसार खेलकुद सप्ताहमा १३९ भन्दा बढी विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूलाई मात्र सहभागी गराइएको छ।
विद्यालयस्तरका विद्यार्थीहरूमा खेल भावना, अनुशासन र सहकार्यको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस खेलकुद सप्ताहले सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्।






